
काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहले मित्र राष्ट्रहरूसँगको सम्बन्धलाई अझ सुदृढ बनाउन नेपाल सरकार उत्सुक रहेको बताएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँगको भेटमा प्रधानमन्त्री शाहले नेपाल सरकार सबै देशहरूसँगको सम्बन्धलाई उच्च महत्व दिने, विश्वास गर्ने र पारस्परिक लाभमा आधारित साझेदारी सुदृढ गर्न प्रतिबद्ध रहेको उल्लेख गरेका हुन् ।
'नेपाल सन्तुलित र व्यावहारिक वैदेशिक नीतिको अनुसरण गर्दै आएको छ । हाम्रो बाह्य सम्बन्ध साझा समृद्धिको लक्ष्यद्वारा निर्देशित छ,' उनले भने, 'नेपालको विकास र समृद्धिका लागि निरन्तर सद्भाव र सहयोग प्रदान गर्नुभएकोमा हामी सबै साझेदार तथा मित्रहरूप्रति हार्दिक आभार व्यक्त गर्दछौं ।'
प्रधानमन्त्री शाहले विश्वमा जारी द्वन्द्वहरूले सर्वसाधारण नागरिकहरूलाई सबैभन्दा बढी असर पार्ने भएकाले शान्ति साझा प्राथमिकता हुनुपर्नेमा जोड दिए ।
उन्ले थपे, 'चलिरहेका द्वन्द्वहरूले सर्वसाधारण नागरिकहरूलाई सबैभन्दा बढी असर पार्ने भएकाले शान्ति हाम्रो साझा प्राथमिकता रहनुपर्छ । यसमा हामी सबै सहमत छौं भन्ने विश्वास लिएको छु र यस दिशामा सामूहिक प्रयासको अपेक्षा गर्दछु । यहाँ उपस्थित सबै मित्रहरूलाई नेपालको निरन्तर मित्रता र सहयोगका लागि धन्यवाद दिन चाहन्छु ।'
प्रधानमन्त्री शाहले नेपाल सरकार लगानीका लागि अनुकूल वातावरण निर्माण गर्न, उद्यमशीलतालाई प्रोत्साहन गर्न तथा दिगो विकासलाई समर्थन गर्न प्रतिबद्ध रहेको बताए । यस्तै, उनले राष्ट्रिय हितअनुकूल हुने गरी नेपाललाई क्षेत्रीय तथा वैश्विक आर्थिक संरचनामा अझ मजबुत रूपमा समेट्ने लक्ष्य राखिएको समेत उल्लेख गरे ।
'नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन । हामी राजनीतिक स्थायित्व कायम राख्न तथा नीतिगत दिशालाई स्थिर र पूर्वानुमानयोग्य बनाइराख्न दृढ प्रतिबद्ध छौं,' प्रधानमन्त्री शाहले भने ।
उनले विकास, व्यापार, लगानी, जलवायु कार्य तथा जनस्तरको सम्बन्धजस्ता विभिन्न क्षेत्रमा सहकार्य अघि बढाउन सरकार इच्छुक रहेको जानकारी पनि दिए । यसैगरी विदेशमा रहेका नेपाली नागरिकको सुरक्षा र हित सरकारको प्राथमिकतामा रहेको विषयमा प्रधानमन्त्रीले जोड दिए ।
सो भेटमा भारत, पाकिस्तान, कोरिया गणराज्य, बेलायत, कतार, स्विट्जरल्यान्ड, फ्रान्स, इजरायल, जापान, बंगलादेश, जर्मनी, इजिप्ट, श्रीलंका, साउदी अरेबिया, चीन, संयुक्त राज्य अमेरिका र संयुक्त राष्ट्र संघका राजदूत/नियोग प्रमुखहरूको उपस्थिति रहेको थियो ।
राजदूत एवं नियोग प्रमुखहरूले प्रधानमन्त्री शाहलाई बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेका थिए । उनीहरूले नेपाली जनताको हितमा परिणाम दिने गरी नेपाल सरकारका कार्यहरूमा समर्थन र सहयोगको प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।
सो अवसरमा परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम शाह, मुख्यसचिव सुमनराज अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई र अन्य सरकारी अधिकारीहरूको पनि उपस्थिति रहेको थियो ।