
सल्यान : शारदा नगरपालिकामा सञ्चालन गरिएको निःशुल्क आँखा जाँच शिविरबाट ४ सय ९० जनाले सेवा लिएका छन् । शारदा नगरपालिका, सल्यानको आयोजना तथा नेपाल नेत्र ज्योति संघको आँखा स्वास्थ्य कार्यक्रम र राप्ती आँखा अस्पतालको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो ।
नगरपालिकाले वडा नं. ३ (बडाखोला, मार्के, मधाना), वडा नं. ७ (कजेरी) र वडा नं. १२ (डाङ्री) गरी पाँच स्थानमा शिविर सञ्चालन गरेको थियो । उक्त शिविरमार्फत १ सय ९१ पुरुष र २ सय ९९ महिला गरी कुल ४ सय ९० जनाले सेवा लिएका हुन् ।
जाँचका क्रममा १७ जनामा मोतिबिन्दु (क्याटार्याक्ट) समस्या देखिएको छ । तीमध्ये ५ पुरुष र १२ महिलालाई आगामी वैशाख ३ र ४ गते सिटलपाटी आँखा उपचार केन्द्रमा सञ्चालन हुने निःशुल्क शल्यक्रियाका लागि सिफारिस गरिएको छ ।
त्यस्तै, समग्र जाँचमा ६७ जनामा मोतिबिन्दु पहिचान गरिएको छ । तीमध्ये २२ पुरुष र ४५ महिलालाई श्रीनगरस्थित आँखा उपचार केन्द्रमा हुने निःशुल्क शल्यक्रियाका लागि पठाइएको शारदा नगरपालिका स्वास्थ्य अधिकृत रविन विष्ठले जानकारी दिए ।
उनका अनुसार १६ जनामा आँखामा मासु पलाउने (प्टेरिजियम) समस्या देखिएको छ भने २० जनामा दृष्टिदोष (रिफ्र्याक्टिभ एरर) पहिचान गरी आवश्यक उपचार प्रदान गरिएको छ । प्टेरिजियम भएका बिरामीलाई थप उपचारका लागि दाङस्थित आँखा उपचार केन्द्रमा रिफर गरिएको छ ।
प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले यस्ता शिविरले ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा पु¥याउनुका साथै समयमै रोग पहिचान र उपचारमा महत्वपूर्ण सहयोग पुगेको बताए । त्यस्तै, शारदा नगरपालिका–७ का अध्यक्ष लीलाबहादुर रोकाले गाउँमै आँखा जाँच सेवा उपलब्ध हुँदा स्थानीयवासीलाई ठूलो सहजता भएको प्रतिक्रिया दिए ।