
सिरहा : सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–४ स्थित पतारी पोखरीमा सन्तान प्राप्तिको कामनासहित व्रतालु महिलाहरूको ठूलो भीड लागेको छ । धार्मिक आस्था बोकेका महिलाहरूले पोखरीमा डुबुल्की लगाउँदै पूजाआजा गरेका हुन् ।
स्थानीय जनविश्वास अनुसार पोखरीमा स्नान गर्दा पानीभित्र कुनै वस्तु फेला परे सन्तान प्राप्ति हुने मान्यता रहेको छ । यही विश्वासका आधारमा प्रत्येक वर्ष सिरहा जिल्ला, सप्तरी जिल्ला, धनुषा जिल्ला, सुनसरी जिल्ला लगायत भारतका विभिन्न क्षेत्रबाट समेत महिलाहरू यहाँ पुग्ने गरेका छन् ।
यस अवसरमा बाबा हरसिंह देवको विशेष पूजा गरिने परम्परा रहेको छ भने बली प्रदान गर्ने चलन पनि कायम छ । दनुवार जातिका पुजारी रहने यस स्थलमा विधुवा महिलाबाट पूजा गराउने प्रचलन रहेको छ । साथै धामी–झाँक्रीले ‘गुहाइर’ भनिने विशेष पूजा विधि पनि सम्पन्न गर्ने गर्दछन् ।
पोखरीमा डुबुल्की लगाएपछि व्रतालु महिलाहरूले सीमाना पार गरी वस्त्र परिवर्तन गर्ने परम्परा समेत रहेको छ । गाउँपालिका अध्यक्ष चतुरानन्द ठाकुरका अनुसार राजा हरसिंह देवसँग जोडिएको यो धार्मिक आस्थाले वर्षेनी ठूलो संख्यामा भक्तजनलाई आकर्षित गर्दै आएको छ । यहाँ हरेक वर्ष भव्य मेला लाग्ने गरेको छ ।