२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

कूटनीतिक भेटमा परराष्ट्र प्रतिनिधि

Nada
रुपेश आचार्य
२०८३ वैशाख ३ गते ०६:३०
Shares
कूटनीतिक भेटमा परराष्ट्र प्रतिनिधि

काठमाडौं : गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि जापानी राजदूत मायदा तोरुबीच बुधबार सिंहदरबारमा भेटवार्ता भयो । छलफलका क्रममा गृहमन्त्री गुरुङले निर्माणाधीन नागढुंगा–सुरुङ मार्गलगायत विभिन्न पूर्वाधार तथा विकास आयोजनाको प्रगतिबारे चासो व्यक्त गरेका थिए ।

ncell

त्यसअघि गृहमन्त्री गुरुङले नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङ र स्विस राजदूत ड्यानियल मिउलीसँग पनि भेट गरेका थिए । भेटमा चिनियाँ राजदूतले चिनियाँ चासोको कुरा गरे । स्विस राजदूतसँगको भेटमा भने गृहमन्त्रीले स्विस बैंकमा रहेको भनिएको नेपालीहरूको ‘कालोधन’ फिर्ताका लागि सहयोग मागेको चर्चा छ । 

‘दुवै भेटहरूमा परराष्ट्र मन्त्रालयका प्रतिनिधि रहेकाले कूटनीतिक आचार संहिता पालन भएको स्थति छ,’ परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले मध्यान्हलाई बताए । मन्त्रीहरूले एकपछि अर्का राजदूत भेटिरहेका बेला परराष्ट्र मन्त्रालय भने कूटनीतिक भेटहरूमा आचार संहिता पालना गराउन प्रतिबद्ध रहेको जनाएको छ । विगतमा विदेशी कूटनीतिक नियोगबाट मन्त्रीहरूसँग सोझै भेट गरिदिँदा समस्या पर्ने गरेको, तर नयाँ सरकार गठन भएयता यस्तो समस्या नभएको प्रवक्ता क्षेत्रीले बताए । 

‘मन्त्रीहरूलाई कुनै पनि विदेशी भेट्नुअघि नेपालको परराष्ट्र सम्बन्धका प्राथमिकताहरू तथा कूटनीतिक आचारसंहिताको पूर्ण जानकारी लिएर मात्र भेट गर्न सरकारले प्रेरित गरिरहेको छ,’ प्रवक्ता क्षेत्रीले भने । नयाँ सरकार बनेपछि भएका कूटनीतिक भेटघाटबारे परराष्ट्र मन्त्रालयलाई पूर्वसूचना दिने, भेट्न खोजिएको देश र नेपालको सम्बन्धबारे बुझ्नेजस्ता कुरा कूटनीतिक आचार संहितामा छन् । यसैगरी भेटमा परराष्ट्रका प्रतिनिधि समावेश गराउने र भेटको अभिलेख राख्नेसम्मका कामलाई चुस्त दुरुस्त बनाउनु खोजिएको पनि उनले बताए । 

विगतमा आफूखुसी विदेशी भेट्ने चलनले थुप्रै पटक परराष्ट्र मन्त्रालयलाई अप्ठ्यारोमा पारेको छ । यसरी भेट्दा देशको प्रतिष्ठामा आँच आउने र देश विदेशी चलखेलको मैदान बन्न सक्ने पूर्वपरराष्ट्र सचिव शंकर वैरागी बताउँछन् ।  

राजनीतिमै पहिलोपटक एक्पोजर पाएका मन्त्रीहरूका लागि मन्त्रालयले गत चैत २५ गते सिंहदरबारमा विश्वव्यापी कूटनीतिक अभ्यासका विभिन्न पक्षहरूबारे जानकारी दिइएको थियो । नवयुवा बाहुल्य रहेको सरकारका मन्त्रीहरूले विदेशीसँग भेट गर्नुअघि कूटनीतिक मर्यादा, त्यो देशसँग नेपालको सम्बन्ध र कूटनीतिक आचार संहिताको राम्रो जानकारी राखून् भन्ने उद्देश्यले उक्त कार्यक्रम गरिएको पनि प्रवक्ता क्षेत्रीले बताए । 

कार्यक्रममा परराष्ट्र सचिव अमृतबहादुर राईले विदेशी सरकार, कूटनीतिक नियोग तथा पदाधिकारीहरूसँग हुने सम्पर्क र भेटवार्ताका क्रममा अपनाइने शिष्टाचार तथा कूटनीतिक आचारसंहितासम्बन्धी विषयमा प्रस्तुति दिएका थिए । 

यसैगरी सचिव राईले अन्तर्राष्ट्रिय परिवेश, नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध, राष्ट्रिय हितको प्रवर्धन र नेपालको समग्र परराष्ट्र नीतिबारे मन्त्रीहरूलाई जानकारी गराएका थिए  । उनले परराष्ट्र नीति सञ्चालन गर्दा अपनाउनुपर्ने विधि, सीमा र कूटनीतिक मर्यादाका सम्बन्धबारे सांसदहरूलाई प्रकाश पारेका थिए । त्यसक्रममा नेपालको परराष्ट्र नीतिका प्राथमिकता, सम्बन्धको सन्तुलन र कूटनीतिक आचारसंहिताका प्राविधिक पक्षसमेत बारे मन्त्रीहरूलाई जानकारी दिइएको थियो ।

मन्त्रीहरूलाई विदेशी पदाधिकारीसँग हुने भेटवार्ताका क्रममा पालना गर्नुपर्ने सामान्य शिष्टाचारदेखि कूटनीतिक आचारसंहिताको अनिवार्य पालनाका विषयमा समेत जानकारी गराइएको थियो । ‘नयाँ सरकारका सदस्यलाई कूटनीतिक मर्यादा र राष्ट्रिय हितअनुकूलका कार्य गर्न सहज होस् भन्ने उद्देश्यले त्यसरी मन्त्रीहरूलाई बोलाइएको थियो,’ प्रवक्ता क्षेत्रीले भने ।

‘पहिले यसरी परराष्ट्र मन्त्रालयलाई खबर गर्ने चलनै थिएन,’ चिनियाँ राजदूतले गृहमन्त्रीलाई भेट्दा परराष्ट्र मन्त्रालयका प्रतिनिधि सहभागी भएको थाहा पाएको बताउँदै परराष्ट्र मामिलाविद् दिनेश भट्टराईले थपे, ‘यो प्रचलनलाई निरन्तरता दिनुपर्छ । हरेक कूटनीतिक भेटको प्रतिवेदन परराष्ट्र मन्त्रालयका सम्बन्धित शाखाका अधिकृतले बनाउने र त्यसलाई मन्त्री हुँदै प्रधानमन्त्रीसम्म पुर्‍याउने अभ्यास रहेको पनि उनले बताए । 

अर्का परराष्ट्रविद् निश्चलनाथ पाण्डेले पनि कूटनीतिक आचार संहिता पालन गराउने प्रयास सकारात्मक भएको बताउँदै यसलाई निरन्तरता दिइनुपर्ने धारणा राखे । यसबाहेक प्रधानमन्त्रीको सामूहिक राजदूतसँगको भेट र परराष्ट्रमन्त्रीले हालै अन्तर्राष्ट्रिय मञ्चमा गरेको सम्बोधनले सरकारको कूटनीति ठीकै बाटोमा रहेको उनले बताए । 

सम्बन्धित खबर