२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

सिंहदरबार पुनर्निर्माण : भूकम्पपछि भन्दा कठिन

Nada
रुपेश आचार्य
२०८३ वैशाख ५ गते ०६:४५
Shares
सिंहदरबार पुनर्निर्माण : भूकम्पपछि भन्दा कठिन

काठमाडौं : सिंहदरबारभित्र काठका ठुल्ठुला दलिन जलेका कारण बेलायती बैठकको सिलिङ नै खसेको छ । त्यही बैठकमा बिच्छ्याइएको सम्भवतः देशकै सबैभन्दा चौडा र बाक्लो गलैंचा पुरै डढेको छ । 

ncell

ऊबेला बेलायतलगायत देशबाट ल्याइएका र अहिले विश्वमै नपाइने चित्र, भित्ता सजावटका कलात्मक वस्तुहरू सबै ध्वस्त छन् । सबैभन्दा ठूूलो समस्या त इँटाहरू जोड्ने पुरातात्विक प्रविधि, चुना र सुर्की नै डढेको छ । त्यहाँभित्रका संरचनाको भर परेर उक्लने वा आड लिने अवस्थासम्म छैन । 

‘यो सबै हेर्दा सिंहदरबारको प्रबलीकरण भूकम्पपछिको भन्दा कैयौं गुणा जटिल र खर्चिलो हुने देखिँदै छ,’ पुरातत्व विभागकी महानिर्देशक सौभाग्य प्रधानांगले मध्यान्हलाई भनिन् । कतिपय ठाउँमा अत्यधिक तातोका कारण इँटासमेत बांगिएको वा फुलेको अवस्थामा भेटिन्छ । 

‘बेलायती बैठकलाई भव्य बनाएका धातु र काठका झल्लर अहिले संसारमै पाइँदैन,’ उनले थपिन् ।  कक्षका ढोकादेखि झ्यालसम्ममा प्रयोग गरिएका बहुमूल्य बुट्टेदार सिसाहरू राणाकालीन पियानोसम्म राखेर गरिएका सजावट जस्तातस्तै फर्काउनु असम्भवजस्तै छ । यहाँ राखिएका महँगा झुमर र पेन्टिङदेखि घडीहरूसम्म पनि अब नभेटिन सक्छन् । 

ऐतिहासिक महत्वको बेलायती कक्ष पनि ‘नियोक्लासिक’ डिजाइनमा बनेको शानदार कक्ष हो । बेलायतकै दरबारको अतिविशिष्ट कक्षको नक्कल गरेर बनाइएको सो कक्षमा पनि महँगा पेन्टिङदेखि झुमरहरूसम्म सजाइएका थिए । कक्षमा कुँदिएका कलात्मक बुट्टाहरूले यो कक्षलाई भव्य देखाएको थियो । क्षतिको पूर्ण अध्ययन नगरी  र प्रबलीकरणका लागि मजदुर खटाउँदाको जोखिम आकलन नगरी तत्काल काम सुरु गर्न सकिने अवस्था नरहेको उनी बताउँछिन् । 

इँटाको धुलो र चुनको मिश्रणबाट बनाइएको बज्रलाई साविककै गुणस्तरमा कसरी ल्याउने ? पुरातत्व विभाग र सरकारका लागि यो अर्को पिरलो बन्न सक्छ । त्यसका लागि बज्र बनाउँदै आएका शिल्पीहरूसँग विभागले छलफल गर्न थालेको छ । देशका अधिकांश पुरातात्विक संरचनामा चुना सुर्की प्रयोग भए पनि सिंहदरबारका इँटा जोड्न मह, मास र तमाखुसमेत प्रयोग भएको कतिपय इतिहासका पुस्तकमा उल्लेख छ । यद्यपि हालै गरिएको सुर्की परीक्षणमा मह र मासको प्रयोग नभेटिएको महानिर्देशक प्रधानांगले दिइन् । 

२०३० साल असारमा सम्पूर्ण सिंहदरबार जलेको थियो । त्यसबेला सिंहदरबारको मुख्य पहिचान बोक्ने पश्चिमी मोहडाको बीचको भाग विष्फोट गराइएको थियो । गत भदौ २४ गतेको आन्दोलनमा भने आगोको लप्काबाट त्यो बच्न सकेन । त्यसदिन सामाजिक सञ्जालमार्फत सार्वजनिक भएका भिडियोहरूमा केही व्यक्तिले सिंहदरबारको महत्व सम्झाउँदै नजलाउन अनुरोध गरेको पनि भेटिन्छ । तर भिडले कसैको कुरा सुनेन । 

आगलागीबाट सिंहदरबारका भौतिक संरचनामा भन्दा ऐतिहासिक कागजातमा बढी क्षति भएको छ । तिनमा नेपालको विश्वसम्बन्ध तथा राज्यका ऐतिहासिक घटानाको प्रमाण समेत मानिन्थे । त्यसको पुनप्र्राप्ति भने असम्भवप्रायः भएको प्रधानांग बताउँछिन् । 

पश्चिमी भागका कोठामा रहेका अनौठा प्रतिविम्ब दिने ऐना र घडी भने राष्ट्रिय संग्रहालयले राखिदिएका कारण बचेको प्रधानांग बताउँछिन् । करिब सय वर्षअघि त्यहीँबाट नेपाल र बेलायतबीच दौत्य सम्बन्ध स्थापना भएको थियो । ऐतिहासिक सन्धिमा हस्ताक्षर भएको थियो । नेपालले पहिलोपटक स्वतन्त्र राष्ट्रका रूपमा अन्तर्राष्ट्रिय मान्यता पाएको थियो ।

राणा प्रधानमन्त्री चन्द्रशमशेरले इस्वी संवत् १९०३मा २५ लाख खर्च गरेर सिंहदरबार बनाउन लगाएका थिए । एक हजार सात सयवटा कोठा रहेको यो भवन त्यसबेला एसियाकै सबैभन्दा ठुलो दरबार थियो । उनले आफ्नो निजी निवासका रूपमा निर्माण गरेका थिए । 

विसं २००७मा राणाशासन अन्त्य भएपछि सिंहदरबारमा नेपाल सरकारको कार्यालय राखियो । त्यतिबेला दरबारमा प्रधानमन्त्रीको कार्यालयदेखि सम्पूर्ण मन्त्रालय थिए । २०३० सालमा भएको आगलागीबाट यसको पछाडिको धेरैजसो भाग नष्ट भएको थियो । यो भवन युरोपेली शैलीमा बनेको छ । चन्द्र शमशेर सिकार तथा कलाका सौखिन थिए । यसका भित्ताहरू आफूले सिकार गरेका जनावर तथा युरोपेली शैलीका चित्रकलाले सजाएका थिए । बत्ती तथा अन्य शृंगारका वस्तुहरू युरोपबाट मगाइएको थियो ।

सिंहदरबारभित्र जेनजी आन्दोलनमा जलाइएका मन्त्रालयहरूमध्ये प्रधानमन्त्री कार्यालयबाहेक सबैको मर्मत सुरु गरिएको जानकारी सहरी विकास मन्त्रालयअन्तर्गतको भवन निर्माण विभागका सहसचिव चक्रवर्ती कण्ठले दिए । ‘प्रधानमन्त्रीकै कार्यालय रहेको पश्चिमी भाग सर्वाधिक क्षति भएको र पुरातात्विक महत्वको विषयसमेत भएकाले क्षतिको मूल्यांकन गर्न पनि समय लाग्छ,’ उनले भने  । पुरातत्व विभागसँग दुई चरणमा बैठक गरिएको जानकारी पनि उनले दिए । 

सम्बन्धित खबर