
काठमाडौँ : गृहमन्त्री सुधन गुरुङलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन माग गर्दै ‘जेन-जी मुभमेन्ट’ ले प्रहरी महानिरीक्षकसमक्ष औपचारिक उजुरी दर्ता गरेको छ ।
प्रवक्ता विजय शाहद्वारा हस्ताक्षरित उक्त उजुरी इमेलमार्फत प्रहरी मुख्यालयमा पठाइएको जनाइएको छ। निवेदनमा गृहमन्त्रीलाई हिरासतमा राखेर विस्तृत अनुसन्धान गर्न माग गरिएको छ ।
संगठनले मन्त्री पदमा बहाल रहेको अवस्थामा अनुसन्धान प्रक्रियामा संलग्न हुनु स्वार्थको द्वन्द्व हुने भन्दै यसले प्राकृतिक न्यायको सिद्धान्तमा असर पार्ने तर्क गरेको छ । साथै पदमै रहँदा प्रमाण नष्ट हुन सक्ने तथा अनुसन्धानमा अवरोध पुग्न सक्ने जोखिम रहेको दाबी पनि गरिएको छ ।
उजुरीमा जेन–जी आन्दोलनका क्रममा पानी वितरणको नाममा स्वयंसेवकको भूमिका लिई आन्दोलनलाई प्रभाव पार्ने प्रयास भएको, आन्दोलनलाई हिंसात्मक बनाउने र राज्य संयन्त्र कमजोर पार्ने गतिविधि भएको आरोप लगाइएको छ ।
त्यसैगरी आन्दोलनको दुरुपयोगमार्फत आर्थिक लाभ लिएको, बिचौलिया तथा दलालहरूसँग मिलेमतो गरेको तथा ७६ जना सहिद र घाइतेप्रति अपमानजनक व्यवहार भएको दाबीसमेत उजुरीमा समावेश गरिएको छ ।
उक्त पत्रको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय मानव अधिकार आयोगलाई समेत पठाइएको प्रवक्ता शाहले जानकारी दिएका छन् ।