
काठमाडौं : प्रतिनिधिसभाको कार्य सञ्चालनलाई व्यवस्थित र मर्यादित बनाउन 'प्रतिनिधि सभा नियमावली, २०८३' को मस्यौदा तयार पारिएको छ । प्रतिनिधिसभाको बैठकले गत २३ चैतमा रास्वपाका सांसद गणेश पराजुलीको नेतृत्वमा मस्यौदा समिति गठन गरेको थियो । सो समितिले नियमावलीको मस्यौदा तयार पारेको हो ।
नयाँ नियमावलीमा शून्य र विशेष समयमा उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले सात दिनभित्र सदनमा दिनुपर्ने बाध्यकारी व्यवस्था प्रस्ताव गरिएको छ ।
नियमावलीमा कार्यव्यवस्था परामर्श समितिको सदस्य संख्या घटाइएको छ ।
प्रतिनिधिसभा कार्यव्यवस्था नियमावली २०७९ मा कार्यव्यवस्था परामर्श समितिको सदस्य सङ्ख्या दलीय प्रतिनिधित्वका आधारमा पदेन सदस्यबाहेक बढीमा २१ जना रहने उल्लेख थियो ।
अहिले प्रतिनिधिसभाले गठन गरेको प्रतिनिधि सभा कार्यसञ्चालन नियमावली मस्यौदा समितिले दलीय प्रतिनिधित्वका आधारमा पदेन सदस्य बाहेक १५ जना रहने व्यवस्था गरेको छ । कार्यव्यवस्था परामर्श समितिसम्बन्धी व्यवस्था नियमावलीको दफा १३ मा छ ।