२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

पुरातत्व विभागका तत्कालीन सिडिई श्रेष्ठ र सहायक अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा

Nada
२०८३ वैशाख ८ गते १७:५१
Shares
पुरातत्व विभागका तत्कालीन सिडिई श्रेष्ठ र सहायक अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुरातत्व विभागका तत्कालीन सिनियर डिभिजनल इन्जिनियर (सिडिई) पूर्ण बहादुर श्रेष्ठ र सोही विभागकी सहायक पथ प्रदर्शक देउकला अधिकारीविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको अभियोगमा विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको छ ।

ncell

आयोगको अनुसन्धान अनुसार, सिडिई श्रेष्ठले पुरातत्व विभागबाट सञ्चालित विभिन्न निर्माण कार्यका ठेक्काहरूमा सहजीकरण गरिदिए बापत निर्माण व्यवसायीहरूबाट घुस लिएको पुष्टि भएको छ । विभागले गरेका कुल ६४ करोड २१ लाख ८९ हजार ६ सय ३ रुपैयाँ बराबरका ठेक्का प्रक्रियामा श्रेष्ठ संलग्न रहेका थिए । सो क्रममा उनले ४ करोड २२ लाख ७५ हजार ९ सय ८५ रुपैयाँ घुस लिएको अख्तियारको दाबी छ ।

श्रेष्ठले घुसको रकम लुकाउन सोही विभागमा कार्यरत सहायक पथ प्रदर्शक देउकला अधिकारीको बैंक खाता प्रयोग गर्ने गरेको पाइएको छ । अधिकारीको नाममा रहेका खाताहरूमा पटक–पटक गरी उक्त रकम जम्मा गर्न लगाएको र सोही रकमबाट उनीहरूको संयुक्त नाममा जग्गा र सुन खरिद गरेको अनुसन्धानबाट खुलेको छ ।

अनुसन्धानका क्रममा उनीहरूले नुवाकोटको सुनखानी र काठमाडौंका विभिन्न स्थानमा जग्गा खरिद गरेको पाइएको छ । जसमा नुवाकोटस्थित कित्ता नं. ७५, ८१८ र ८१९ का क्रमश: ६–१४–२–३, १–१–० र ८–१–१–१ क्षेत्रफलका जग्गाहरू रहेका छन् । यसैगरी, भ्रष्टाचारको रकमबाट ९९.६८ ग्राम सुनका गहनाहरू समेत खरिद गरेको भेटिएको छ ।

अख्तियारले दुवै प्रतिवादीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ अनुसार कारबाहीको माग गरेको छ ।

दुवै जनालाई ४ करोड २२ लाख ७५ हजार ९ सय ८५ रुपैयाँ बिगो कायम गरी सोही बराबरको जरिवाना र कैद सजायको माग गरिएको छ । साथै, सम्पत्ति शुद्धीकरणतर्फ पनि थप सजाय र अवैध रूपमा आर्जित सम्पत्ति तथा जग्गा जफत गर्न मागदाबी लिइएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।

ताजा खबर

सम्बन्धित खबर