२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

लुम्बिनी प्रदेश सभाको सातौँ अधिवेशन अन्त्य

Nada
२०८३ वैशाख १० गते १५:५८
Shares
लुम्बिनी प्रदेश सभाको सातौँ अधिवेशन अन्त्य

लुम्बिनी : लुम्बिनी प्रदेश सभाको चालु (सातौँ) अधिवेशन अन्त्य गरिएको छ ।

ncell

 प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा ९२० बमोजिम प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरिएको हो । 

आजको बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त भएको अधिवेशन अन्त्यसम्बन्धी पत्र सभामुख तुलाराम घर्तीमगरले पढेर सभामा सुनाए । प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले आज राति १२:०० बजेदेखि लागू हुनेगरी अधिवेशन अन्त्य गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता कमल ज्ञवालीले जानकारी दिए ।

प्रदेश सरकारको मन्त्रिपरिषद् निर्णयअनुसार मुख्यमन्त्री चेतनारायण आचार्यमार्फत गरिएको अनुरोधका आधारमा अधिवेशन अन्त्य गरिएको आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । हिउँदे अधिवेशनमा १६ वटा बैठक बसेका थिए ।

प्रदेश सभाको आज बसेको १६औँ बैठकले जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालनसम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको प्रतिवेदनसहितको विधेयक सर्वसम्मत पारित गरेको छ । 

मुख्यमन्त्री आचार्यको तर्फबाट भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले उक्त विधेयकमाथि ‘छलफल गरी पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । सभामुख घर्तीले उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दै सर्वसम्मत पारित भएको घोषणा गरे । 

बैठकमा भौतिक पूर्वाधार विकास मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर मन्त्री ढकालले दिएका छन् । त्यस्तै सामाजिक विकास समितिका सभापति यमबहादुर नेपालीले ‘सामाजिक विकास समितिको वार्षिक प्रतिवेदन’ सभासमक्ष पेस गरे । 

वसन्ती न्यौपाने, अम्बिका काफ्ले, यमूना रोका तामाङ, भण्डारीलाल अहिर, शान्ति लोध, भगवती अधिकारीलगायत प्रदेशसभा सदस्यहरूले बैठकको शून्य समयमा समसामयिक विषयमा आ–आफ्ना धारणा राखेका थिए । 

ताजा खबर

सम्बन्धित खबर