२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

मौसमजन्य विपद् व्यवस्थापनका लागि देशभर ६० वटा अस्थायी बेस स्थापना गर्ने तयारी

Nada
२०८३ वैशाख १० गते १६:३४
Shares
मौसमजन्य विपद् व्यवस्थापनका लागि देशभर ६० वटा अस्थायी बेस स्थापना गर्ने तयारी

काठमाडौं : सशस्त्र प्रहरी बलले विपद् व्यवस्थापन र उद्धार कार्यलाई सुदृढ बनाउन देशभर स्थायी र अस्थायी संरचना बनाउने भएको छ । 

ncell

बिहीबार बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआइजी) गणेश ठाडा मगरले ९ वटा विपद् व्यवस्थापन सम्बन्धी स्याथी बेस र ६० वटा अस्थायी बेस सञ्चालन ल्याउन लागेको जानकारी दिए ।

उनकाअनुसार हालै सुनसरीको चतरा, सप्तरीको भारदह, काभ्रेको भकुण्डे, डोटीको बोर्डर, गोरखाको आरुटार र जुम्लाको सीमामा ६ वटा बेस स्थापना गरिएको छ । उनकाअनुसार सशस्त्र प्रहरीले हाल चार वटा स्थायी अपरेशनल युनिट स्थापना गरेको छ । कुरिनटारस्थित तालिम केन्द्र, मनाङको उच्च पर्वतीय उद्धार तालिम शिक्षालय, सप्तरीको विशेष कार्य शिक्षालय र विपद् उद्धार गणले विपद् व्यवस्थापनसम्बन्धी कार्य गर्ने गरेका छन् ।

उनले प्रहरी हेडक्वाटरदेखि विओपीसम्म नै विपद् व्यवस्थापनसम्बन्धी तालिम प्राप्त दक्ष जनशक्ति परिचालन गरेको पनि जानकारी दिए । उनकाअनुसार विभिन्न प्रकारका विपद् सम्बन्धी तालिममार्फत ४ हजार ५१३ जनशक्ति उत्पादन गरिएको छ । ती जनशक्तिलाई आवश्यकताअनुसार परिचालन गरिएको उनले जानकारी दिए ।

हेडक्वार्टरदेखि सीमा सुरक्षा पोस्ट (बिओपी) स्तरसम्म ८ हजार १ सय १० जना सशस्त्र प्रहरी कर्मचारी संलग्न विपद् समर्पित टोली गठन गरिएको उनको भनाइ छ । उनले सशस्त्र प्रहरीले गत वर्षदेखि ‘विपद् स्वयंसेवक तालिम’ कार्यक्रम सञ्चालन गर्दै स्थानीय तहमा जनशक्ति उत्पादन गरिरहेको पनि जानकारी दिए ।

सो कार्यक्रमअन्तर्गत गतवर्ष ९९० जनाले तालिम लिएको र यस वर्ष हालसम्म २ सय २९ जनाले तालिम पूरा गरेको उनले बताए । हाल १ सय ३५ जना तालिमरत रहेका छन् । प्रत्येक वडामा २५ जनाको दरले विपद् सूचक (स्वयंसेवक) विकास गर्ने लक्ष्यका साथ कार्यक्रम अघि बढाइएको पनि उनले जानकारी दिए ।

उनले दक्ष जनशक्ति परिचालन गरेपनि आवश्यक उद्धार सामग्रीको अभाव रहेको बताए । देशभर रहेका ५४७ युनिटमध्ये धेरैमा आधारभुत सामग्री अझै अपुग रहेको उनको भनाइ छ । विपद् व्यवस्थापन प्राधिकरण, मन्त्रालय तथा प्रदेश र स्थानीय तहसँग समन्वय गरेर सामग्री संकलनको प्रयास भइरहेको उनले जानकारी दिए ।

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा वर्षायामको सुरुवातसँगै आगलागी, बाढी, पहिरो, महामारी लगायत विपद्जन्य जोखिमहरूको न्यूनीकरण, विपद् प्रतिकार्य र विपद् पुनर्लाभको तयारीका बारेमा छलफल भएको थियो ।

ताजा खबर

सम्बन्धित खबर