
बझाङ : वर्ल्ड भिजन इन्टरनेसनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग, प्रगतिशील युवा समाज बझाङ सँगको साझेदारी र जयपृथ्वी नगरपालिका को समन्वयमा सञ्चालन गरिएको तीनदिने नगरस्तरीय क्षमता विकास तालिम सम्पन्न भएको छ ।
बाल सञ्जाल तथा बाल क्लबमा आबद्ध बालबालिकाको नेतृत्व क्षमता अभिवृद्धि, निर्णय गर्ने सीप विकास र बालअधिकारबारे सचेतना विस्तार गर्ने उद्देश्यले तालिम आयोजना गरिएको हो । कार्यकारी निर्देशक लभराज जोशीका अनुसार तालिममा बालअधिकार, बाल संरक्षण, बालविवाह, महिनावारी स्वच्छता, यौन तथा प्रजनन स्वास्थ्य, विद्युतीय अपराध, छाउपडी प्रथा तथा बालश्रमजस्ता विषयमा विस्तृत जानकारी दिइएको थियो ।
तालिम अवधिभर बालबालिकालाई हिंसा, दुर्व्यवहार, शोषण र बेवास्ताबाट कसरी जोगिने तथा आपतकालीन अवस्थाबाट प्रभावित बालबालिकालाई कसरी सहयोग गर्ने भन्ने विषयमा विभिन्न सत्रमार्फत प्रशिक्षण प्रदान गरिएको थियो ।
साझेदारी संस्थाले बाल सञ्जालका पदाधिकारीहरूलाई सशक्त बनाउँदै बालअधिकारको वकालत गर्न तथा जनप्रतिनिधिसँग विकास योजना प्रस्ताव गर्न प्रेरित गरेको जनाएको छ । यसले बालबालिकालाई आफ्ना हकअधिकारबारे बुझ्न र स्थानीय तहको योजना निर्माण प्रक्रियामा सक्रिय रूपमा सहभागी हुन सक्षम बनाउने विश्वास लिइएको छ ।
प्रगतिशील युवा समाजका अध्यक्ष रमेश केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जयपृथ्वी नगरपालिकाका प्रमुख चेतराज बजाल प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा वक्ताहरूले बालबालिकामा आत्मविश्वास विकास गर्दै आफ्ना विचार प्रस्तुत गर्ने वातावरण सिर्जना गर्न यस्ता तालिम प्रभावकारी हुने धारणा व्यक्त गरेका थिए ।
प्रशिक्षक बिरेन्द्र खड्काले बालबालिकाप्रति परिवार र राज्य दुवैको दायित्व महत्वपूर्ण रहेको उल्लेख गर्दै उनीहरूको हित संरक्षण र उज्ज्वल भविष्य निर्माणमा जोड दिनुपर्ने बताए । साथै, स्थानीय सरकारले बालबालिकासम्बन्धी थप सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याए ।
कार्यक्रममा प्रस्तुत तथ्यांकअनुसार संविधानले बालअधिकार सुनिश्चित गरे पनि अझै देशभर अभिभावकविहीन बालबालिका, मानव तस्करी, यौन दुर्व्यवहार तथा जोखिमपूर्ण श्रममा संलग्न हुने समस्या कायम छन् । यस्ता चुनौती न्यूनीकरणका लागि साझेदारी संस्था र स्थानीय सरकारले प्रभावकारी नीति तथा कार्यक्रम कार्यान्वयनमा जोड दिनुपर्ने सरोकारवालाहरूले बताएका छन् ।