२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

मौलापुरमा चरम बेथिति बढेको जनप्रतिनिधिकै आरोप

Nada
राजकुमार यादव
२०८३ वैशाख १० गते २२:०३
Shares
मौलापुरमा चरम बेथिति बढेको जनप्रतिनिधिकै आरोप

रौतहट : रौतहटको मौलापुर नगरपालिकामा चरम बेथिति बढेको भन्दै निर्वाचित जनप्रतिनिधिहरूले नै नगर प्रमुखविरुद्ध गम्भीर आरोप लगाएका छन् । 

ncell

बिहीबार मौलापुर–१ मर्यादपुरमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा उपमेयरसहित ६ जना वडाध्यक्षहरूले नगर प्रमुख रिना कुमारी साह तथा उनका श्रीमान्, पूर्वमन्त्री प्रभु साहमाथि विभिन्न अनियमितता र दबाबमूलक गतिविधिको आरोप लगाएका हुन् । 

पत्रकार सम्मेलनमा उपमेयर नागेन्द्र यादवले नगर प्रमुखको संकेतमा हालै आएका प्रमुख प्रशासकीय अधिकृत उपसचिव सुरेशबाबु घिमिरेलाई हटाउने उद्देश्यले विभिन्न षड्यन्त्र भइरहेको दाबी गरे । उनका अनुसार घिमिरे गत शुक्रबार मात्र पदबहाली गरेका थिए । त्यसपछि नगर प्रमुखका छोरा विवेक साहको नेतृत्वमा युवाहरूको समूहले कार्यालयमा पुगेर खेलकुद कार्यक्रमका लागि बजेट उपलब्ध गराउन दबाब दिएको थियो । 

यस्तै, सोही समूहले पुनः कार्यालय पुगेर विद्युत् महसुल भुक्तानी तथा छोरीको विवाहमा दिइँदै आएको आर्थिक सहयोग उपलब्ध गराउन माग गर्दै ज्ञापनपत्र बुझाएको उपमेयर यादवले जानकारी दिए ।

गत असार १० गते सम्पन्न नगरसभाबाट घरायसी विद्युत् महसुल भुक्तानी, छोरीको विवाहमा जनही ३० हजार रुपैयाँ सहयोग, मधानी महोत्सव तथा विभिन्न विकास योजनाहरू पारित गरिएको थियो । उपमेयर यादवका अनुसार अघिल्ला निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबाबु साह र लेखा अधिकृत जयप्रकाश महतोको मिलेमतोमा २०७८ सालदेखि कार्यपालिका निर्णय र अनुगमनबिना नै व्यापक भुक्तानी हुँदै आएको थियो । 

हाल विद्युत् महसुल तथा विवाह अनुदान भुक्तानी रोकिएको, नाला सरसफाइ हुन नसकेको र विभिन्न शीर्षकमा मनपरी खर्च देखाएर विगत ६ वर्षदेखि अनियमितता हुँदै आएको आरोप जनप्रतिनिधिहरूले लगाएका छन् ।

उनीहरूले अधिकांश ठेक्का एउटै व्यक्ति सुनिल साहलाई दिइएको विषयमा पनि प्रश्न उठाएका छन् । 

उपमेयर यादवले नयाँ प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई टिक्न नदिने योजनाअन्तर्गत पुरानै संरचना पुनःस्थापित गर्न खोजिएको आशंका व्यक्त गरे । 

यसैबीच, वडाध्यक्षहरूले आगामी स्थानीय तह निर्वाचन लक्षित गर्दै नगर प्रमुख र पूर्व मन्त्री प्रभु साहले आफ्ना निकट व्यक्तिलाई विजयी गराउने उद्देश्यले अहिलेबाटै योजना बनाइरहेको आरोप लगाए । उनीहरूका अनुसार गत असार, साउन र मंसिरमा बसेका कार्यपालिका बैठकहरूमा निर्णय पुस्तिकामा स्पष्ट निर्णय उल्लेख नगरी सादा कागजमा हस्ताक्षर गराउन दबाब दिइएको थियो, जसको उनीहरूले विरोध गरेका थिए ।

उक्त विषयमा जिल्ला प्रशासन कार्यालय रौतहटमा उजुरी दिइएको भए पनि हालसम्म कुनै कारबाही नभएको उनीहरूको भनाइ छ ।

वडाध्यक्षहरूले आफूहरूको कारणले कुनै पनि भुक्तानी नरोकेको स्पष्ट पार्दै पारदर्शी ढंगले कार्यपालिका बैठक सञ्चालन गर्न माग गरेका छन् । उनीहरूले बैठकका निर्णयहरू विधिवत् लेखिनुका साथै सार्वजनिक गर्नुपर्ने र आवश्यक परे सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रसारण गर्नुपर्ने मागसमेत अघि सारे । 

उनीहरूका अनुसार प्रत्येक वडाको विकास बजेटबाट करिब ६५ लाख रुपैयाँ कटौती गरी अन्य शीर्षकमा खर्च गरिँदै आएको छ, जसले स्थानीय विकासमा प्रत्यक्ष असर परेको छ ।

पत्रकार सम्मेलनमा वडा नं. १ का अध्यक्ष जयलाल महतो, वडा नं. ८ का अध्यक्ष शिवप्रसन यादव, वडा नं. ६ का अध्यक्ष ईश्वरदयाल यादव, वडा नं. ७ का अध्यक्ष वीरबहादुर साह, वडा नं. ९ का अध्यक्ष श्यामाकिशोर साह र वडा नं. ५ का अध्यक्ष चन्द्रशेखर साह सहभागी थिए ।

यता नगर प्रमुख रिना कुमारी साहले भने सम्पूर्ण आरोपको खण्डन गर्दै उपमेयर र वडाध्यक्षहरूलाई ‘आ–आफ्नो अधिकार प्रयोग गर्न स्वतन्त्र रहेको’ प्रतिक्रिया दिएकी छन् । 

ताजा खबर

सम्बन्धित खबर