काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सन् २०२२ को नोभेम्बरदेखि कतारमा शुरु हुने विश्वकप फुटबल प्रतियोगिताका लागि अल्पकालीन भिसामा नेपाली श्रमिक लैजान अनुमति दिएको छ । प्रतियोगिता अवधि भर कतारका विभिन्न कम्पनीले छोटो अवधिका लागि नेपाली श्रमिक लिन चाहेकाले मन्त्रालयले अनुमति दिएको हो ।
सो अवधिका लागि सरकारले नेपाली श्रमिक पठाउँदा सबै प्रक्रिया पूरा गरेर पठाउने निर्णय समेत गरेको छ । छोटो अवधिका लागि पठाउने भएकाले उनीहरुको श्रम स्वीकृति प्रदान गरेर नै पठाउने निर्णय गरेको श्रम मन्त्रालयका सहसचिव तथा रोजगार व्यवस्थापन महाशाखाका प्रमुख राजिव पोख्रेलले जानकारी दिए ।
फुटबल प्रतियोगिताका लागि कामदारको माग आएको कुरा यसअघि कतारमा रहेको नेपाली दूतावासलाई रोजगारदाता कम्पनीले जानकारी गराएका थिए । आफुलाई जानकारी आएपछि दूतावसले मन्त्रालयलाई पत्र लेखेको थियो । मन्त्रालयले गरेको यो निर्णय अब फेरि कतारमा रहेको नेपाली दूतावासलाई पठाइने छ । यो निर्णयसँगै दूतावासले छोटो अवधिका लागि श्रमिक लैजान इच्छुक रोजगारदाताले ल्याएका माग प्रमाणीकरण गरेपछि कामदार पठाउन पाइने छ ।
विश्वकप फुटबलसम्मका लागि मात्रै नेपाली कामदार पठाइने भएकाले सरकारले शून्य लागतमा पठाउन सम्बन्धित कम्पनीहरुलाई अनुमति दिने छ । त्यस्तै मन्त्रालयले दुई तर्फी हवाई टिकटसहित भर्ना प्रक्रियामा लाग्ने सम्पूर्ण खर्चसमेत रोजगारदाताले नै व्यहोर्नु पर्ने निर्णय गरेको छ ।
त्यसरी जाने श्रमिकले कतारमा काम गर्ने अवधि ६ महिनाभन्दा कम समयको हुनेछ । म्यानपावर कम्पनी बाहेक व्यक्तिगतरूपमा यसरी छोटो समयको रोजगारीका लागि जान खोज्नेहरूले भिसा ल्याएर श्रम स्वीकृति लिन आएमा पनि श्रम स्वीकृति प्रदान गर्ने मन्त्रालयले जनाएको छ ।
कानूनअनुसार श्रम स्वीकृतिको अवधि दुई वर्षको हुने व्यवस्था भए पनि कहीँ कतैबाट त्यो भन्दा कम अवधिको कामको अवसर र भिसा आएमा पनि श्रम स्वकृति प्रदान गर्ने व्यवस्था भएकाले यो छोटो अवधिका लागि श्रम स्वीकृति दिएरै कामदार पठाउन कानूनी अड्चन नभएको सहसचिव पोख्रेलले जानकारी दिए ।
नेपालबाट कति श्रमिक लैजाने र सेवा सुविधा कति पाउने भन्ने कुरा भने अहिले नै निश्चित भइसकेको छैन । कामदारका लागि मागपत्र प्रमाणीकरण भएर आएपछि मात्रै त्यहाँ पाउने तलब र सेवा सुविधाको बारेमा जानकारी हुनेछ । तर सामान्य अवस्थामा जाने श्रमिकले भन्दा विश्वकपको समयमा छोटो अवधिका लागि जाने श्रमिकले राम्रो तलब र सेवा सुविधा पाउनेछन् । त्यस्तै विश्वकप फुटबलको समयमा कतारले छोटो अवधिका लागि झण्डै १२ हजार श्रमिकको माग गरेको छ ।
वैदेशिक रोजगार विभागबाट इजाजत लिएका सबै म्यानपावर कम्पनीहरूले यो छोटो अवधिका लागि कामदार मागपत्र ल्याएर श्रमिक पठाउन पाउनेछन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies