
मौलापुर : रौतहट जिल्लाको मौलापुर नगरपालिकामा पछिल्लो समय चरम बेथिति बढेको भन्दै निर्वाचित जनप्रतिनिधिहरूले पत्रकार सम्मेलन गरी बिहीबार नगर प्रमुखविरुद्ध गम्भीर आरोप लगाएका छन् ।
सोही विषयलाई लिएर गठन गरिएको संघर्ष समितिले आज शनिबार पतौरा बजारमा बिहान ९ बजे पत्रकार सम्मेलन गर्दै चरणबद्ध संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ ।
संघर्ष समितिका अनुसार नगरपालिकामा विद्युत्, खानेपानी तथा विवाहसम्बन्धी भुक्तानी लामो समयदेखि रोकिएको र यसले सर्वसाधारण नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएको आरोप लगाइएको छ । समितिले तत्काल बाँकी भुक्तानी उपलब्ध गराउन माग गर्दै दबाबमूलक कार्यक्रम घोषणा गरेको हो ।
घोषित कार्यक्रमअनुसार वैशाख १३ गतेदेखि टोल टोलमा अन्तक्रिया तथा हस्ताक्षर संकलन अभियान सञ्चालन गरिनेछ । त्यसैगरी वैशाख १५ गते प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापन–पत्र बुझाइने कार्यक्रम तय गरिएको छ ।
यसैक्रममा वैशाख २१ गते मौलापुर नगरपालिकामा विरोध प्रदर्शन गरिनेछ भने माग सम्बोधन नभए जेष्ठ ४ गतेदेखि नगरपालिकामा तालाबन्दी गर्ने चेतावनी समेत दिइएको छ ।
संघर्ष समितिले सम्बन्धित निकायलाई समयमै माग सम्बोधन गर्न आग्रह गर्दै अन्यथा थप कडा आन्दोलनका कार्यक्रम ल्याइने जनाएको छ । उक्त संघर्ष समितिको संयोजकको जिम्मेवारी भोला पाण्डे ले सम्हालेका छन्, जो आम जनता पार्टी का केन्द्रीय सचिवालय सदस्य हुन् ।