काठमाडौं : श्रम, रोजगार तथा सामजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले नवनियुक्त राजदूतहरुसँग छलफल गर्दै वैदेशिक रोजगारमा जाने नेपाली कामदारहरुको सुरक्षाका विषयमा चासो व्यक्त गरेका छन् ।
बिहीबार मन्त्रालयमा नवनियुक्त साउदीका राजदूत नवराज सुवेदी र दक्षिण अफ्रिकाका राजदूत दानबहादुर तामाङसँगको छलफलमा मन्त्री कुँवरले वैदेशिक रोजगारमा जाने नेपालीहरुले पाउने गरेका दुःख, समस्याका विषयमा चासो व्यक्त गरेका हुन् ।
उनले दुबै राजदूतलाई नेपाली कामदारको कामको ग्यारेन्टी र सुरक्षाका विषयमा विशेष ध्यान दिन आग्रह समेत गरे । ‘यहाँबाट जाने कामदारले उता भनेअनुसार काम नपाउने गुनासाहरु धेरै सुनिन्छन् । पठाउने व्यक्ति वा कम्पनीले उनिहरुलाई ठग्ने गरेका कारण बिचल्लीमा परेका घटनाहरु आइरहन्छन्, यसबारे विशेष ध्यान दिन म आग्रह गर्न चाहन्छु’, मन्त्री कुँवरले भने ।
छलफलका क्रममा उनले कामदारलाई परेको समस्या समाधानका लागि दूतावासलाई चाहिने आवश्यक सहयोगका लागि मन्त्रालय तयार रहेको बताए । विदेशमा नेपाली कामदारहरुको हुने गरेको मृत्युका विषयमा समेत गम्भीर भएर बुझ्नका लागि पनि मन्त्री कुँवरले राजदुतहरुसँग आग्रह गरे ।
छलफलमा बोल्दै मन्त्रालयका सचिव एकनारायण अर्यालले विदेशमा कोमामा र अँगभँग भएर उपचार गराइरहेका नेपाली कामदारहरुको उद्धारका लागि सरकार गम्भीर रहेको र दूतावासहरुले सोहीअनुसार काम गर्नुपर्ने बताए । उनकाअनुसार अहिले साउदीमा मात्रै २५ जना नेपाली कामदारहरु कोमामा उपचार्राथ छन् ।
त्यस्तै कार्यक्रममा बोल्दै वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेलले यो आर्थिक वर्षमा मात्रै सबैभन्दा बढी साउदीमा १ लाख ८८ हजार ३९८ जना नेपालीहरु रोजगारका लागि गएको बताए । साउदीमा कामदार पठाउन नेपाल र साउदी सरकारबीच श्रम सम्झौता नभएपनि विभिन्न माध्यमहरुबाट नेपालीहरु साउदी जाने संख्या ठूलो रहेको छ ।
कार्यक्रममा बोल्दै मन्त्रालयका उपसचिव एवं रोजगार व्यवस्थापन महाशाखा प्रमुख राजिव पोखरेलले वैदेशिक रोजगारीका लागि विदेश जाने नेपाली कामदारहरुमा वैधानिकीकरण, स्वास्थ्य, बीमा, दोहोरो सम्झौता, प्रमाणीकरण, अवैधानिकरुपमा गएका कामदारको शव उद्धार, महिला कामदारको सुरक्षा र न्यूनतम पारिश्रमिक समेत नपाउने लगायतका समस्याहरु रहेको उल्लेख गरे ।
छलफलमा बोल्दै साउदीका लागि नवनियुक्त राजदूत सुवेदीले साउदी सरकार र नेपालबीच श्रम सम्झौताका लागि पहल गर्ने बताए । अवैधानिकरुपमा कामदारहरु जाँदा विभिन्न जटिलताहरु रहेकाले दुबै सरकारबीच श्रम सम्झौता भएको खण्डमा त्यो न्यूनिकरण हुँदै जाने उनको भनाइ छ । साउदीमा समस्यामा परेका कामदारहरुको उद्धार र राहातका लागि पहल गर्ने समेत उनले प्रतिवद्धता व्यक्त गरे । कामदारले पाउने गरेका समस्याहरुको समाधानका लागि मन्त्रालयसँग आवश्यक सुझाव, सल्लाह र सहयोगका लागि सहकार्य गर्ने समेत उनले बताए ।
यस्तै दक्षिण अफ्रिकाका लागि नयनियुक्त राजदूत तामाङले दक्षिण अफ्रिकामा नेपाली कामदारहरु समस्यामा परेका खबरहरु खासै नआएपनि कामदारहरुका विषयमा आफू सचेत रहेको बताए । उनले दक्षिण अफ्रिकासँगै केन्या, तान्जेनिया, साउथ अफ्रिकामा जेल र अस्पतालमा रहेका नेपालीहरुको उद्धारका लागि पहल गर्ने समेत बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies