२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

विश्व औलो दिवसः बढ्दै औलोको सङ्क्रमण

Nada
२०८३ वैशाख १२ गते १६:३०
Shares
विश्व औलो दिवसः बढ्दै औलोको सङ्क्रमण

चितवनः जिल्लाका अस्पतालहरूमा उपचारका लागि आएका बिरामीमध्ये चालु आर्थिक वर्षमा १२ जनामा औलो रोगको सङ्क्रमण देखिएको छ । दुई हजार ८५६ जनाको औलो परीक्षण गरिएकामा सो सङ्ख्यामा सङ्क्रमण देखिएको हो ।

ncell

जनस्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रक राम केसीका अनुसार गत आर्थिक वर्षमा आठ हजार ४०५ को औलो परीक्षणका क्रममा ११ जनामा यो रोगको सङ्क्रमण देखिएको थियो । उनले भने, ‘यहाँ भेटिएका सङ्क्रमित रोजगारीका शिलशिलामा बाहिर गएर आएकाहरूमा देखिने गर्दछ ।’ उनका अनुसार वैदेशिक रोजगारमा भारत र शान्ति मिसनका लागि अफ्रिकन मुलुकमा गएर फर्किएकाहरूमा यो रोगको सङ्क्रमण देखिने गरेको छ ।

सीमा आवागमन र श्रम प्रवासमा गएकाहरुबाट औलोको उच्च जोखिम देखिएको किट नियन्त्रक केसीले जानकारी दिए । उनका अनुसार यो रोग एनोफिलिज जातको सङ्क्रमित लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ । जटिल प्रकारको औलो देखिएमा सङ्क्रमितको ज्यानै जोखिममा पर्ने उनले बताए । सरकारले सन् २०२६ सम्ममा स्थानीय औलोका रोगहरु शून्यमा पुर्‍याउने योजना सहित काम गरिरहेको उनले उल्लेख गरे ।

किट नियन्त्रक केसीका अनुसार यो रोग लागेमा टाउको दुख्ने, कामज्वरो आउने, जोर्नीहरू दुख्ने, रगतको कमी हुने, शरीर सिथिल हुने, वान्ता हुने, पेट दुख्ने, फियो सुनिने जस्ता लक्षण देखिन्छन् । यस रोगबाट बाँच्नका लागि लामखुट्टेको टोकाइबाट बच्ने, ज्वरो आउना साथ नजिकको स्वास्थ्य संस्थामा गई परीक्षण गर्ने, औलो देखिएमा उपचार गर्ने, झ्याल ढोकामा जालिको प्रयोग गर्ने, घर वरिपरि सरसफाइ राख्ने जस्ता उपाय अपनाउन उनले सुझाव दिए । जिल्लामा स्थानीयमा औलोको सङ्क्रमण नभएको उनको भनाइ छ । 

ताजा खबर

सम्बन्धित खबर