
रौतहट : रौतहटको मौलापुर नगरपालिकाले सीता जयन्ती विविध धार्मिक तथा सांस्कृतिक कार्यक्रमसहित भव्य रूपमा मनाएको छ ।
कार्यक्रमअन्तर्गत मन्दिरमा पूजापाठ, भजन–कीर्तन तथा धार्मिक अनुष्ठान गरिएको थियो । सीता–रामको भजनकीर्तनले सम्पूर्ण मौलापुर क्षेत्र भक्तिमय वातावरणमा गुञ्जायमान भएको थियो ।
कार्यक्रममा नगर प्रमुख रिना कुमारी साहले सीता जयन्तीको अवसरमा लैंगिक विभेद अन्त्य गर्दै महिलाको सम्मान र सशक्तिकरणमा नगरपालिकाले निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
उनले सीता मातालाई त्याग, संघर्ष र नारी शक्तिको प्रतीकका रूपमा उल्लेख गर्दै आजका महिलाले उहाँबाट प्रेरणा लिनुपर्ने बताइन् । साथै समाजमा पुरुषहरूको योगदान जतिनै महिलाको योगदानको पनि उचित सम्मान हुनुपर्नेमा जोड दिइन् ।
कार्यक्रममा स्थानीय बासिन्दा, बुद्धिजीवी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रमको अध्यक्षता नगर प्रमुख साहले गरेकी थिइन् भने पूर्व प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले जानकारी दिएका छन् ।
नगरपालिकाले विगतका वर्षहरूमा पनि यस्तै धार्मिक तथा सांस्कृतिक कार्यक्रममार्फत सीता जयन्ती मनाउँदै आएको छ ।