
काठमाडौं : विश्वका शक्तिशाली राष्ट्रहरूबीच तनाव चर्किँदै जाँदा युद्धको जोखिम बढिरहेको पृष्ठभूमिमा बालकलाकारले संगीतमार्फत शान्तिको सन्देश फैलाउने प्रयास सुरु गरेका छन् ।
राजधानी काठमाडौंस्थित रसियन हाउसको प्रेक्षालयमा आयोजना गरिएको एक विशेष शास्त्रीय संगीत कार्यक्रममा १६ वर्षमुनिका बालकलाकारहरूले प्रस्तुति दिँदै 'युद्ध होइन, संवाद र सहअस्तित्व'को सन्देश दिएका हुन् । जर्नलिष्ट फर जस्टिस र रसियन हाउस काठमाडौंको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रममा तबलामा अध्याय भण्डारी, बाँसुरीमा प्रतिक डंगोल, सारङ्गीमा अनुष गन्धर्व र कथक नृत्यमा आध्या रेग्मीले आ–आफ्ना कलात्मक प्रस्तुति प्रस्तुत गरेका थिए ।
कार्यक्रममार्फत शान्तिका अग्रदूत गौतम बुद्धको जन्मभूमि नेपालबाट विश्व समुदायलाई संवाद र सहकार्यको बाटो रोज्न आह्वान गरिएको आयोजक संस्थाका अध्यक्ष टिकाराम खड्काले बताए । उनका अनुसार कार्यक्रमको उद्देश्य केवल सांगीतिक मनोरञ्जनमा सीमित नभई सांस्कृतिक माध्यमबाट शान्तिको सशक्त आवाज उठाउनु हो ।

यस्तै, रसियन दूतावासकी काउन्सिलर तथा रसियन हाउसकी निर्देशक अनास्तासिया खोखलोभाको सन्देश उद्धृत गर्दै कार्यक्रम व्यवस्थापक सन्तोष कार्कीले संगीतलाई सांस्कृतिक कूटनीतिक संवादको प्रभावकारी माध्यमका रूपमा व्याख्या गरे । उनले रूस–नेपाल कूटनीतिक सम्बन्धको ७०औं वर्षगाँठको अवसरमा यस कार्यक्रमलाई साझा मूल्य, विविधता र एकताको प्रतीकका रूपमा लिइएको उल्लेख गरे ।
कार्यक्रमको सुरुवात शंखध्वनीसँगै ब्रह्मबीज पिताम्बरा पीठसँग आबद्ध पाँच बटुकले शान्तिका लागि स्वस्ती वाचन गर्दै गरिएको थियो ।