२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

कृषि उत्पादनमै कर लगाउँदा उत्पादन क्षेत्र निरुत्साहित हुने सांसद पराजुलीको टिप्पणी

Nada
२०८३ वैशाख १३ गते १८:२२
Shares
कृषि उत्पादनमै कर लगाउँदा उत्पादन क्षेत्र निरुत्साहित हुने सांसद पराजुलीको टिप्पणी

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले स्थानीय तहबाट संकलन गरिने केही कर संरचना अव्यवहारिक भएको उल्लेख गर्दै त्यसले कृषि तथा उत्पादन क्षेत्रलाई निरुत्साहित गर्ने बताएका छन् ।

ncell

विशेष गरी कुखुरा पालन क्षेत्रसँग सम्बन्धित अण्डा, चल्ला र कुखुरामै कर लगाइने अभ्यासप्रति उनले आपत्ति जनाएका हुन् ।

आइतबार आयोजित एक कार्यक्रममा बोल्दै सांसद पराजुलीले स्थानीय सरकारलाई राजस्व संकलनको आवश्यकता भए पनि कर प्रणाली न्यायसंगत, उत्पादनमैत्री र संघीय नीतिसँग समन्वित हुनुपर्ने बताए । 

संघीय सरकारको कृषि नीति विपरीत नजाने गरी स्थानीय तहले करका मापदण्ड तय गर्नुपर्नेमा उनले जोड दिए ।

उनले उत्पादन क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने अवस्थामा कृषि उपज तथा पशुपन्छीजन्य वस्तुमै कर लगाउँदा उद्यमी र किसानमा नकारात्मक सन्देश जाने बताए । यस्ता नीतिले लगानी घट्ने तथा उत्पादन वृद्धि प्रभावित हुने उनको धारणा थियो ।

सुकुमवासी समस्या सम्बन्धमा उनले लामो समयदेखि आयोग गठन गर्ने, जग्गा वितरणलाई राजनीतिक लाभसँग जोड्ने र स्थायी समाधानभन्दा अस्थायी उपाय अपनाउने प्रवृत्ति दोहोरिएको टिप्पणी गरे । 

विगत दशकौँदेखि समस्या समाधानभन्दा राजनीतिक उपयोग बढी भएको उनको भनाइ थियो ।

वास्तविक भूमिहीन र सुकुमवासीलाई न्याय दिलाउन संघीय र स्थानीय सरकारबीच प्रभावकारी समन्वय अपरिहार्य रहेको उनले बताए । अब भ्रम फैलाएर मत आकर्षित गर्ने अभ्यास अन्त्य गर्दै वास्तविक पीडितको पहिचान, व्यवस्थापन र पुनर्स्थापनामा केन्द्रित हुनुपर्ने उनको धारणा थियो ।

सांसद पराजुलीले आफ्नो दलले वर्तमान पाँचवर्षीय कार्यकालभित्र सुशासन र समृद्धिको आधार निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले अघिल्ला राजनीतिक नेतृत्वले व्यवस्था परिवर्तनको उपलब्धि उपयोग गरे पनि जनजीवन सुधारमा अपेक्षित ध्यान दिन नसकेको आरोप लगाए ।

ताजा खबर

सम्बन्धित खबर