२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

उपत्यकामा अतिक्रमित संरचना हटाउने अभियान जारी, तीन क्षेत्रमा ७८१ घर हटाइए

Nada
२०८३ वैशाख १३ गते १८:५४
Shares
उपत्यकामा अतिक्रमित संरचना हटाउने अभियान जारी, तीन क्षेत्रमा ७८१ घर हटाइए

काठमाडौँ : काठमाडौँ उपत्यकाभित्र सार्वजनिक जग्गा तथा नदी किनार क्षेत्रमा बनेका अतिक्रमित बस्ती हटाउने अभियान निरन्तर अघि बढाइएको छ ।  काठमाडौँ महानगर प्रहरी बलका अनुसार हालसम्म तीन वटा क्षेत्रमा कुल ७ सय ८१ घरटहरा हटाइएको छ ।

ncell

महानगर प्रहरी बल प्रमुख विष्णुप्रसाद जोशीका अनुसार वडा नं. ११ अन्तर्गत थापाथलीस्थित वाग्मती नदी किनार क्षेत्रमा १ सय ४३, वडा नं. ९ को गैरीगाउँ–सिनामंगल क्षेत्रमा १ सय ६२ तथा वडा नं. ३१ को शान्तिनगर क्षेत्रमा ४ सय ७६ संरचना हटाइएको हो ।

सरकारी निर्देशन अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र काठमाडौँ महानगर प्रहरीको संयुक्त टोलीले शनिबार दिनभर प्रभावित परिवारलाई सुरक्षित रूपमा स्थानान्तरण तथा सरसामान व्यवस्थापनमा सहयोग गरेको थियो । त्यसपछि मात्र आवश्यक उपकरण प्रयोग गरी संरचना हटाउने कार्य अघि बढाइएको जनाइएको छ ।

काठमाडौँ उपत्यका विकास प्राधिकरणको विवरणअनुसार अब थप ९० वटा घरटहरा हटाउन बाँकी रहेका छन् । जसअन्तर्गत गोठाटार क्षेत्रमा ७७ र मनोहरा टोलमा १३ वटा संरचना हटाउनुपर्ने सूचीमा छन् ।

सरकारले सार्वजनिक सम्पत्ति संरक्षण, नदी किनार क्षेत्र व्यवस्थापन, सहरी सौन्दर्यीकरण तथा वातावरणीय सन्तुलनलाई प्राथमिकता दिँदै अभियान सञ्चालन गरिरहेको जनाएको छ । दीर्घकालीन सहरी व्यवस्थापनको लक्ष्यसहित यस्तो कदम चालिएको बताइएको छ ।

उता, बस्ती हटाइएका परिवारको पुनर्स्थापना, वैकल्पिक बसोबास तथा सामाजिक व्यवस्थापनका विषयमा विभिन्न पक्षबाट चासो व्यक्त हुन थालेको छ । सरोकारवाला निकायहरूले प्रभावित नागरिकका लागि योजनाबद्ध पुनर्वास व्यवस्था आवश्यक रहेको औँल्याएका छन् । 

ताजा खबर

सम्बन्धित खबर