२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

हिउँको ढिस्कोले रोक्यो सगरमाथा आरोहण, ४१० आरोही बेसक्याम्पमै रोकिए

Nada
२०८३ वैशाख १४ गते ०६:३५
Shares
हिउँको ढिस्कोले रोक्यो सगरमाथा आरोहण, ४१० आरोही बेसक्याम्पमै रोकिए
तस्बिर : हिमालयन ट्रेकर्स डटकम

काठमाडौं : सगरमाथा आरोहणको सिजन सुरु भएसँगै सयौं आरोही बेसक्याम्प पुगिसकेका छन् । तर, खुम्बु आइसफलमा १०० मिटर अग्लो हिउँको ढिस्को ‘सेराक’मा चिरा देखिएपछि आरोहण रुट निर्माण रोकिएको छ । जसका कारण सयौं आरोही बेसक्याम्पमै रोकिएका छन् । 

ncell

सिजनको सबैभन्दा महत्वपूर्ण समय नजिकिए पनि मार्ग नखुल्दा आरोहीहरूको योजना अन्योलमा परेको छ । आइसफल डाक्टर भनेर चिनिने अनुभवी शेर्पा टोलीले हरेक वर्षजस्तै यसपटक पनि डोरी, सिँढी राखेर सुरक्षित बाटो बनाउने प्रयास गरिरहेका छन्, तर लगातार तापक्रम वृद्धि र हिउँको चलायमान अवस्थाले जोखिम बढेपछि रुट बनाउने काम हुन सकेको छैन । सगरमाथामा बेसक्याम्पदेखि क्याम्प–२ सम्म सगरमाथा प्रदूषण नियन्त्रण समितिले बाटो बनाउने जिम्मा पाएको छ । सामान्य अवस्थामा खुम्बु आइसफल हुँदै सगरमाथाको मार्ग तयार गर्न करिब ७ देखि १० दिन लाग्ने गर्दछ । तर यस वर्ष अस्थिर हिउँको मात्रा, बारम्बार सर्ने ग्लेसियर र जोखिमयुक्त सेराकका कारण बाटो बन्न नसकेको हो । सयौं विदेशी आरोही बेसक्याम्पमै बाटो खुल्ने पर्खाइमा छन् । उनीहरूको खर्च बढ्दै गएको छ भने आरोहण तालिका पछि सर्दै जाने देखिएको छ । 

पर्यटन विभागका प्रवक्ता हिमाल गौतमका अनुसार अहिले खुम्बु क्षेत्रमा जोखिम बढेपछि ‘पर्ख र हेर’को अवस्था छ । ‘खुम्बु क्षेत्रमा सय मिटर अग्लो सेराक देखिएको छ र जुन अलि जोखिमपूर्ण अवस्थामा छ,’ उनले मध्यान्हसँग भने, ‘सेराक एक हप्ताभित्रमै खस्ने सम्भावना रहेको आइसफल डाक्टरहरूले बताएका छन् । यदि त्यो खस्यो भने त समस्या समाधान भइहाल्यो, खसेन भने अर्को के विकल्प हुन सक्छ भनेर छलफल भइरहेको छ ।’ 

क्याम्प टुमाथि हेलिकोप्टर प्रयोग 

खुम्बु क्षेत्रमा आइसको डल्लोले बाटो अवरुद्ध गरेका कारण क्याम्ट टुबाट माथि चुचुरोसम्मको रुट पनि निर्माण हुन सकेको छैन । क्याम्प टुबाट चुचुरोसम्मको रुट बनाउने जिम्मा नेपाल पर्वतारोहण सञ्चालक संघको जिम्मामा छ । खुम्बु क्षेत्रमै बाटो अवरुद्ध भएपछि क्याम्प टुबाट माथि बाटो बनाउने काम नरोकियोस् भनेर आफूहरूले हेलिकोप्टरका लागि सिफारिस गरेको पर्यटन विभागका प्रवक्ता गौतम बताउँछन् । उनले भने, ‘यताको अवरोध नखुलुन्जेल उताको काम पनि नरोकियोस् भनेर हामीले क्याम्प टुबाट चुचुरोसम्म बाटो बनाउनका लागि हेली सेवाबाट सामान ढुवानी गरी बाटो निर्माण गर्न सिफारिस गरिसकेका छौं । अगाडिको बाटो बनेर तयार राखेपछि र खुम्बुको अवरोध हटेपछि पिक आवरमा समस्या नआउने किसिमले तयारी गरिरहेका छौं ।’ 

बिहान सबेरै मात्र केही समयका लागि काम गर्न सकिने, दिउँसो तापक्रम बढेपछि हिउँ अस्थिर हुने, राति फेरि जम्ने चक्रले मार्ग निर्माणमा कठिनाई उत्पन्न भएको छ । एउटा सानो गल्ती वा ढिस्को खस्ने घटना हुँदा पूरै मार्ग फेरि नयाँ बनाउनुपर्ने अवस्था आउन सक्छ ।

अघिल्ला वर्षहरूमा वैशाख पहिलो सातासम्म तेस्रो शिविरसम्मको रोप फिक्सिङ सकिने गरेको पर्वतारोहण सञ्चालकहरू बताउँछन् । तर अहिले काम ठप्प भएको छ । आइसफल डाक्टर र आरोहीहरूको सुरक्षालाई ध्यानमा राखेर उक्त हिउँ पग्लने बेलासम्म पर्खनुपर्ने स्थिति आएको हो । 

आरोहण ठप्पको जोखिम कति ?

विश्वका १० अग्ला हिमालमध्ये आठवटा नेपालमै छन् । खुम्बु आइसफलको माथिल्लो भाग करिब पाँच हजार ३०० मिटर उचाइमा रहेको विशाल सेराकले समस्या निम्त्याइरहेको छ । यदि समयमै मार्ग तयार हुन सकेन भने यसको सोझो सर सगरमाथा आरोहण सिजनमै पर्न सक्छ । सगरमाथा चढ्नका लागि सबैभन्दा उपयुक्त समय मे महिनाको छोटो ‘वेदर विन्डो’ हो । यदि मार्ग ढिला खुल्यो भने धेरै टोलीले शिखरतर्फ प्रयास गर्न पर्याप्त समय पाउँदैनन् । यस्तो अवस्थामा केही टोलीले आरोहण स्थगित गर्न सक्छन् भने केहीले जोखिम मोलेर प्रयास गर्दा दुर्घटनाको सम्भावना पनि बढ्छ । अझ गम्भीर अवस्था भनेको, यदि मार्ग नै सुरक्षित रूपमा बनाउन नसकिने स्थिति आयो भने यो सिजन आंशिक वा पूर्ण रूपमा प्रभावित हुन सक्छ । त्यसले आरोहीहरूको सपना मात्र भंग गर्दैन, नेपालले पाउने ठुलो पर्यटन आम्दानी गुमाउन सक्छ । विशेषगरी शेर्पा, गाइड, पोर्टर, होटल व्यवसायी र स्थानीय बासिन्दाका लागि यो प्रत्यक्ष आर्थिक संकट बन्न सक्छ ।

चिनियाँ आरोही धेरै

हालसम्म सगरमाथा आरोहणका लागि चार सय १० जनाले अनुमति लिएका छन् । यस सिजनको रोचक पक्ष के छ भने हालसम्म आरोहणको अनुमति लिने सबैभन्दा धेरै चिनियाँ नागरिक छन् । यसअघि चिनियाँ नागरिकहरू अमेरिकी र भारतीयभन्दा कम आरोहणमा आउने गरेका थिए । यसपटक ९८ जना चिनियाँ नागरिकले सगरमाथा आरोहणका लागि अनुमति लिएका छन् । योपटक अनुमति लिनेमा दोस्रो ठुलो संख्या अमेरिकीको छ । यस सिजनमा ४९ जना अमेरिकीले अनुमति लिएका छन् । तेस्रोमा भारत रहेको छ । यो सिजनमा ४६ जना भारतीय रहेका छन् । चौथोमा रहेको बेलायतबाट २८ जनाले अनुमति लिएका छन् भने पाँचौंमा रसियाका १८ जना रहेका छन् । यस्तै, जापान १४, पोल्यान्ड र अस्ट्रेलियाका १२÷१२, क्यानडा १०, आयरल्यान्डका १० जना रहेका छन् । नेपालबाट पनि १२ जनाले अनुमति लिएका छन् । शुक्रबारसम्म ४१ समूहमा ३ सय १३ पुरुष र ९७ जना महिलाले आरोहण अनुमति लिएका छन् । 

सगरमाथा आरोहण दलबाट शुक्रबारसम्म रोयल्टीबाट नेपाल सरकारले ८९ करोडभन्दा बढी आम्दानी गरिसकेको छ । यस्तै, अन्य २९ वटा विभिन्न हिमालबाट सरकारले ९४४ जनाबाट १ अर्ब २ करोड ८८ लाख ९३ हजार २ सय २६ रुपैयाँ संकलन गरेको छ । यो पटकबाट पर्यटन विभागले सगरमाथा आरोहणको शुल्क पनि बढाएको छ । वसन्त ऋतुमा सगरमाथा आरोहण गर्ने विदेशी नागरिकले सरकारलाई तिर्नुपर्ने रोयल्टी योपटकबाट ११ हजार अमेरिकी डलरबाट १५ हजार डलर पुगेको छ । नेपाली नागरिकले तिर्नुपर्ने रोयल्टी पनि ७५ हजार रुपैयाँबाट बढाएर १ लाख ५० हजार रुपैयाँ पुर्‍याइएको छ । 

यो वर्ष चीनले विदेशी नागरिकका लागि आफ्नो क्षेत्रबाट आरोहण अनुमति जारी गरेको छैन । नेपालबाट भन्दा सहज बाटो हुँदै सगरमाथा शिखरमा पुग्ने तिब्बतबाट अनुमति नपाउँदा धेरै आरोही यो वर्ष नेपाली बाटोबाट आरोहणमा आउने अपेक्षा गरिएको छ । चीनबाट अनुमति खोले पनि नेपालतर्फबाट भएको आरोहणको अन्तर्राष्ट्रिय स्तरमा राम्रो मान्यता हुने भएका कारण नेपालबाटै धेरैले आरोहण गर्ने पर्वतारोहीहरू बताउँछन् । गत वर्ष नेपालबाट गाइडसहित ७०० भन्दा धेरैले आरोहण गर्दा चीनबाट १००को हाराहारी संख्यामा मात्रै आरोहण भएको विवरण आएका थिए । यसअघि सन् २०१९मा सगरमाथामा आरोहीहरू लाममा बस्नुपरेको तस्बिर सार्वजनिक भएपछि पर्यटन विभागले अनुमतिपत्रमा कडाइ गर्दै आएको छ । 

सम्बन्धित खबर