
तनहुँः राष्ट्रपति रामचन्द्र पौडेलले भानु चुँदीरम्घालाई भाषा र साहित्यको त्रिवेणीका रुपमा विकास गर्नुपर्नेमा जोड दिएका छन् । भानु नगरपालिका–४ चुँदीरम्घामा आज भानु साहित्य उद्यानको शिलान्यासपछि राष्ट्रपति पौडेलले आदिकवि भानुभक्त आचार्यको योगदानले नेपाली भाषा र पहिचान निर्माणमा महत्वपूर्ण भूमिका खेलेको बताए । ‘भानुभक्तकै कारण हामी नेपालीको रुपमा परिचित भएका हौं,’ राष्ट्रपति पौडेलले भने ।
राष्ट्रपतिले भाषा एकताको आधार भएको उल्लेख गर्दै भानुभक्तको जन्मभूमि चुँदीरम्घालाई नेपाली भाषा र साहित्यको त्रिवेणीका रूपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याए । साथै, भानु साहित्य उद्यान निर्माणले यस क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत चिनाउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
राष्ट्रपति पौडेलले साहित्य उद्यानलाई राष्ट्रिय एकताको केन्द्र बनाउनुपर्ने धारणा राखे । लामो समयदेखि प्रयास सार्थक हुने चरणमा पुगेको बताउँदै उनले यसलाई सहयोग गर्न सबैलाई अपिल गरे ।
तनहुँ–२ का सांसद श्रीराम न्यौपानेले सुशासन र कानुनी आधार बलियो भएको उल्लेख गर्दै विकास तीव्रतर गतिमा अगाडि बढाउन सरकार प्रतिबद्ध रहेको बताए । गण्डकी प्रदेश सरकारका अर्थमन्त्री जितबहादुर शेरचनले भानु साहित्य उद्यान साहित्यिक पर्यटनको केन्द्र बन्नेमा विश्वास व्यक्त गरे ।