२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

निजी क्षेत्रको मनोबल उठाउन छलफल थालौं : सांसदहरू

Nada
२०८३ वैशाख १४ गते १५:४५
Shares
निजी क्षेत्रको मनोबल उठाउन छलफल थालौं : सांसदहरू

काठमाडौं : पछिल्लो समय निजी क्षेत्रको मनोबल कमजोर भएको भन्दै सांसद्हरूको उनीहरूसँग छलफल गर्न जरुरी रहेको बताएका छन् ।

ncell

प्रतिनिधि सभा अन्तर्गतको अर्थसमितिको सोमबार बैठकमा सांसदहरू निजी क्षेत्रका संस्थाहरूसँग छलफल गरेर उनीहरूको मनोबल उकास्नुपर्नेमा जोड दिए । बैठकमा सांसद लिमा अधिकारीले निजी क्षेत्रको मनोबल खस्किएको उल्लेख गर्दै त्यसलाई उच्च बनाउन आत्मविश्वासका साथ नीति निर्माणमा अघि बढ्नुपर्ने बताइन् ।

उनले निजी क्षेत्रका सरोकारलाई समेट्न नसके अर्थतन्त्र चलायमान हुन नसक्ने बताइन् । निजी क्षेत्रको मनोबल उकास्न अर्थसमितिका सदस्यहरू स्वयं निजी क्षेत्रका संस्थाहरू—एफएनसिसिआई, सिएनआई, चेम्बर, इपानलगायतसँग प्रत्यक्ष छलफलमा जानुपर्ने उनले बताइन् ।

सांसद अधिकारीले बजेटमार्फत कर प्रणालीमा सुधार आवश्यक रहेको औंल्याउँदै अर्थतन्त्रको दायरा विस्तार गर्दै करका दर क्रमशः घटाउँदै लैजानुपर्ने नीति अपनाउनुपर्ने बताइन् । यसका लागि कर विज्ञ र अर्थविद्हरूसँग अर्थसमितिमा विस्तृत छलफल गरी सुझाव लिनुपर्नेमा उनले जोड दिइन् ।

सांसद सुशान्त वैदिकले संसदीय समितिलाई “मिनी संसद” बताउँदै यसको मुख्य काम विधेयकहरूको गहिरो अध्ययन र छलफल भएको बताए । उनले अर्थसमितिमा छुट्टै उपसमिति बनाउनेभन्दा पनि विषयगत उपसमिति गठन गरी सम्बन्धित विधेयकहरूमा केन्द्रित अध्ययन गर्नुपर्ने सुझाव दिए । आवश्यकताअनुसार कार्यदल पनि गठन गर्न सकिने उनको भनाइ छ ।

सांसद पुष्पराज कँडेलले उपसमिति गठनको नयाँ अवधारणा सकारात्मक भएको बताउँदै यसले विषयवस्तुको गहिरो अध्ययनमा सहयोग पुग्ने बताए । तर उपसमितिबाट आएको प्रतिवेदनलाई मूल समितिमा पर्याप्त छलफल नगरी केवल औपचारिक रूपमा पारित गर्ने प्रवृत्ति भए त्यसले उल्टै नोक्सानी पुर्‍याउने  उनको भनाइ छ । 

अर्थसमितिको बैठकमा सांसदहरूले आगामी बजेटका बारेमा प्रि बजेट छान्न ढिला गर्न नहुनेमा जोड दिएका थिए ।

ताजा खबर

सम्बन्धित खबर