२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

महावाणिज्यदूत खनालद्वारा वायोमिङ्ग राज्यका विशिष्ट व्यक्तित्वहरूसँग भेटवार्ता तथा अन्तरक्रिया

Nada
२०८३ वैशाख १५ गते १०:३८
Shares
महावाणिज्यदूत खनालद्वारा वायोमिङ्ग राज्यका विशिष्ट व्यक्तित्वहरूसँग भेटवार्ता तथा अन्तरक्रिया

सान फ्रान्सिस्को, अमेरिका : अमेरिकाको सान फ्रान्सिस्कोस्थित नेपाली महावाणिज्यदूतावासका महावाणिज्यदूत लक्ष्मण खनालले अप्रिल २४ मा वायोमिङ्ग राज्यका गभर्नर मार्क गोर्डेनसँग रिभर्टन शहरमा शिष्टाचार भेट गरेका छन् ।

ncell

उक्त अवसरमा महावाणिज्यदूत खनालले गत वर्ष जुलाई महिनामा सान फ्रान्सिस्कोमा वायोमिङ्ग राज्यसमेत क्षेत्राधिकारमा पर्ने नेपाली महावाणिज्यदूतावास स्थापना भई सञ्चालनमा आएको जानकारी गराउँदै नेपाल र वायोमिङ्ग राज्यबीच सम्भावित सहकार्यका क्षेत्रहरूबारे छलफल गरेका थिए ।

भेटका क्रममा विशेषगरी कृषि, पर्यटन, उच्च शिक्षा तथा अनुसन्धान, जलवायु परिवर्तन, वातावरण संरक्षण तथा उच्च हिमाली क्षेत्र संरक्षणसँग सम्बन्धित अध्ययन–अनुसन्धान र उद्यमशीलता विकासका क्षेत्रमा सम्भावित सहकार्यबारे विचार आदानप्रदान भएको थियो ।

महावाणिज्यदूत खनाल अप्रिल २३ र २४ मा रिभर्टनस्थित सेण्ट्रल वायोमिङ्ग कलेजमा आयोजित 'सेण्ट्रल वायोमिङ्ग इनोभेसन एन्ड इन्टरप्रेनरशिप कन्फ्रेन्स' मा सहभागी भएका थिए । सम्मेलनका क्रममा उनले वायोमिङ्ग राज्यका विधायक ईभान पोस्सीसँग पनि भेट गरी दुई पक्षीय सहकार्यका विषयमा सामान्य छलफल गरेका थिए ।

सम्मेलनको पूर्वसन्ध्यामा, अप्रिल २२ मा, खनालले सोही कलेजका अध्यक्ष डा. ब्राड ट्याण्डलसँग भेटवार्ता गरेका थिए । त्यसपछि 'ब्रिङ्गिङ वायोमिङ्ग टु द ग्लोबल कम्युनिटी: ए कन्वर्सेसन विथ द कन्सुल जनरल अफ नेपाल' शीर्षकको कार्यक्रममा सहभागी भई विद्यार्थी, प्राध्यापक, पत्रकार तथा अन्य सहभागीहरूसँग अन्तरक्रिया गरेका थि ए। उक्त अवसरमा उनले नेपाल सरकारका सुशासन तथा आर्थिक विकासका प्राथमिकताहरूका साथै नेपालमा विद्यमान आर्थिक अवसर र सम्भावनाबारे जानकारी दिएका थिए ।

त्यसैगरी, अप्रिल २४ का दिन अपराह्न खनालले लारामीस्थित वायोमिङ्ग विश्वविद्यालयका अध्यक्ष एड सेडीसँग भेट गरेका थिए । सो अवसरमा नेपालका विश्वविद्यालयहरू र वायोमिङ्ग विश्वविद्यालयबीचको सम्बन्धलाई अझ सुदृढ गर्दै सहकार्यका नयाँ क्षेत्र पहिचान र विस्तार गर्ने विषयमा छलफल भएको थियो ।

त्यसपछि उनले विश्वविद्यालयका विभिन्न संकायका डिन तथा पदाधिकारीहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए । कार्यक्रममा कृषि, प्राकृतिक स्रोत, वातावरण, इन्जिनियरिङ तथा ऊर्जा क्षेत्रका सहकार्यका सम्भावनाबारे विशेष छलफल भएको थियो ।

उक्त कार्यक्रमपछि महावाणिज्यदूत खनालले 'फ्रम द वन्डर अफ हिमालय टु वन्डरल्यान्ड अफ अमेरिका' शीर्षकमा प्रस्तुति दिएका थिए । उक्त कार्यक्रममा विश्वविद्यालयका प्राध्यापक, कर्मचारी, नेपाली तथा अन्य विदेशी विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।

हाल करिब ७० जना नेपाली विद्यार्थी अध्ययनरत रहेको वायोमिङ्ग विश्वविद्यालयको भ्रमणका क्रममा 'फ्रेन्ड्स अफ नेपाल एट द युनिभर्सिटी अफ वायोमिङ्ग (एफएनयूडब्लू)' ले अप्रिल २५ मा लारामीमा बसोबास गर्ने नेपाली समुदायसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो । सो अवसरमा महावाणिज्यदूतावासबाट प्रदान गरिने सेवाहरू तथा नेपालको हित प्रवर्द्धनमा नेपाली डायस्पोराको भूमिकाबारे छलफल गरिएको थियो ।

उक्त कार्यक्रमहरूमा प्राध्यापक डा. मोहनबहादुर डाँगी, डा. रमेश सेढाईं, पत्रकार शिव नेपाल तथा उपमहावाणिज्यदूत ऋषिराज आचार्यको उपस्थिति रहेको थियो । सम्पूर्ण कार्यक्रमको समन्वय तथा संयोजनमा डा. डाँगीको महत्वपूर्ण भूमिका रहेको थियो।

ताजा खबर

सम्बन्धित खबर