
काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा उद्योगी शेखर गोल्छाको हिरासतविरुद्ध परेको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको छ ।
मंगलबार सर्वोच्च अदालतका न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले उक्त आदेश जारी गर्दै पक्राउ र थुनाको कारणसहित लिखित जवाफ पनि पेस गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको हो । गोल्छाका तर्फबाट उनकी पत्नी सीमा गोल्छाले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै अदालतले बन्दीसहित उपस्थित गराउन आदेश दिएको हो ।
यसअघि, काठमाडौं जिल्ला अदालतले सोमबार गोल्छालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले गोल्छालाई वैशाख १० गते नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)द्वारा तयार पारिएको ‘धितोपत्र कारोबारसम्बन्धी प्रारम्भिक जाँचबुझ सुपरिवेक्षण प्रतिवेदन, २०८३’ मा उनको नाम जोडिएका आधारमा अनुसन्धान अघि बढाइएको सिआइबीले जनाएको छ ।