२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

झापाको हिमालय माविका प्रधानाध्यापक र लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा

Nada
२०८३ वैशाख १५ गते १४:४०
Shares
झापाको हिमालय माविका प्रधानाध्यापक र लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको दमक नगरपालिका वडा नं. २ स्थित श्री हिमालय माध्यमिक विद्यालयका प्रधानाध्यापक र लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । विद्यालयको कोष दुरुपयोग र भवन निर्माणमा अनियमितता गरेको आरोपमा प्रधानाध्यापक ओमप्रसाद उपाध्याय आचार्य र लेखापाल दयासागर आचार्यविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको हो ।

ncell

आयोगको अनुसन्धानका अनुसार, आर्थिक वर्ष २०७७/७८ मा नमुना विद्यालय भवन निर्माण गर्ने क्रममा नक्कली बिल भरपाई बनाएर बढी भुक्तानी लिने कार्य भएको पाइएको छ । भवनको पहिलो तला निर्माणका लागि दमक नगरपालिका र विद्यालय आफैँले नियुक्त गरेको परामर्शदाताले गरेको कूल मूल्यांकन १ करोड ४८ लाख ५३ हजार २३५ रुपैयाँ ८ पैसा मात्र थियो । तर प्रधानाध्यापक र लेखापालको मिलेमतोमा २ करोड ७ लाख ७९ हजार ९२२ रुपैयाँ भुक्तानी गरी ५९ लाख २६ हजार ६८६ रुपैयाँ ९२ पैसा बढी रकम हिनामिना गरिएको आयोगले जनाएको छ ।

भवन निर्माण बाहेक अन्य आर्थिक गतिविधिमा पनि अनियमितता पाइएको छ। आर्थिक वर्ष २०७७/७८ देखिको नगद बेरुजु १६ लाख ६० हजार १०१ रुपैयाँ १९ पैसा र विद्यालयको नगद रकम १७ लाख ९६ हजार ५२१ रुपैयाँ ६१ पैसा व्यक्तिगत प्रयोगमा ल्याई हिनामिना गरेको अनुसन्धानबाट खुलेको छ ।

अख्तियारले दुवै प्रतिवादीविरुद्ध कुल ९३ लाख ८३ हजार ३०९ रुपैयाँ ७२ पैसा बिगो कायम गरेको छ । उनीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार कैद सजाय र बिगो बमोजिम जरिवानाको मागदाबी गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।

ताजा खबर

सम्बन्धित खबर