
काठमाडौं : तारकेश्वर नगरपालिका–७ थापागाउँमा विगत एक दशकभन्दा लामो समयदेखि अतिक्रमण गरी भाडामा प्रयोग हुँदै आएको सार्वजनिक जग्गा अन्ततः खाली गराइएको छ । नगरपालिकाले सार्वजनिक जग्गा संरक्षण समितिको निर्णयअनुसार बुधबार डोजर प्रयोग गरी अतिक्रमण हटाएको हो ।
नगर उपप्रमुख सृजना बुर्लाकोटीको संयोजकत्वमा गठित समितिको पहिलो बैठकले उक्त जग्गा खाली गराउने निर्णय गरेको थियो । सोही निर्णय कार्यान्वयन गर्दै नगरपालिकाका कर्मचारी, नगर प्रहरी, नेपाल प्रहरी तथा स्थानीयवासीको सहभागितामा करिब २ रोपनी क्षेत्र अतिक्रमणमुक्त गरिएको जनाइएको छ ।
समिति सदस्य सुशान्त न्यौपानेका अनुसार यसअघि नै २०७५ पुस १७ गते वडा नं. ७ ले सार्वजनिक सूचना जारी गर्दै अतिक्रमण हटाउन आग्रह गरेको थियो । त्यसपछि पनि पटक–पटक पत्राचार र स्थानीयको पहल भए पनि जग्गा संरक्षण हुन सकेको थिएन । सार्वजनिक जग्गा संरक्षण समिति गठन भएसँगै पहिलो निर्णयकै रूपमा यो कदम चालिएको हो ।
उपप्रमुख बुर्लाकोटीले थापागाउँस्थित कित्ता नं. ३५१ को खाली गराइएको जग्गामा छिट्टै सूचना बोर्ड राखिने जानकारी दिइन् । साथै, नगरभित्र रहेका अतिक्रमित जग्गाबारे प्रमाणसहित जानकारी गराउन स्थानीयवासीलाई आग्रह गर्दै प्रमाणित स्थानहरू क्रमशः संरक्षण गरिने बताइन् ।
उक्त जग्गामा केही व्यक्तिहरूले सटर तथा कोठा निर्माण गरी भाडामा लगाएका थिए । केही स्थानमा होटल र क्याफे सञ्चालनसमेत भइरहेको थियो। अब नगरपालिकाले यस्ता अतिक्रमण हटाउँदै सार्वजनिक सम्पत्तिको संरक्षणलाई प्राथमिकता दिने जनाएको छ ।