२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

'अमिर शोभा शिक्षा तथा साहित्य पुरस्कार कोष' स्थापना

Nada
२०८३ वैशाख १६ गते १८:१२
Shares
'अमिर शोभा शिक्षा तथा साहित्य पुरस्कार कोष' स्थापना

काठमाडौं : साहित्य, कला, संस्कृति तथा मानवतावादी समाज सुधारका अभियन्ता तथा अरुणिमा शैक्षिक प्रतिष्ठानका संस्थापक अध्यक्ष एवं संरक्षक स्वर्गीय बुद्धिबहादुर (अमिर) थापाको निधनको ४५औं दिनको अवसरमा श्रद्धाञ्जली तथा स्मृति सभा आयोजना गरिएको छ ।

ncell

प्रतिष्ठानका अध्यक्ष भीमानन्द ढुंगानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वर्गीय थापाको आत्माको चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारण गरी कार्यक्रमको सुरुवात गरिएको थियो । कार्यक्रममा सहभागीहरूले थापाले समाज, शिक्षा र साहित्य क्षेत्रमा पुर्‍याउनुभएको योगदानको स्मरण गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे ।

अरुणिमा परोपकार प्रतिष्ठानका अध्यक्ष शम्भुप्रसाद बडालले थापाको शिक्षा र समाजसेवाप्रतिको समर्पणको चर्चा गर्दै उनका आदर्शलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । त्यस्तै, गुठियार संगीता हमाल र अरुणिमा अलुम्नाइका अध्यक्ष जितेन्द्र श्रेष्ठले थापाको नेतृत्वदायी भूमिका र संस्थाप्रतिको प्रतिबद्धताको प्रशंसा गरे ।

कार्यक्रममा वक्ताहरूले स्वर्गीय थापालाई संघर्षशील, इमानदार र कर्तव्यनिष्ठ व्यक्तित्वका रूपमा चित्रण गर्दै शिक्षा विकास, सामाजिक जागरण र मानव सेवामा उहाँको योगदान अतुलनीय रहेको उल्लेख गरे । साहित्य सदन नेपालका अध्यक्ष प्रा.डा. हेमनाथ पौडेल, शिक्षाविद् विश्वनाथ अर्याल र अर्थविद् प्रा.डा. कैलाशनाथ प्याकुरेलले उनका विचार र जीवनदर्शन भावी पुस्ताका लागि प्रेरणादायी रहेको बताए ।

यसैगरी, डा. सुरेश ढकाल र साहित्यकार कोषराज न्यौपानेले थापाको साहित्य, कला तथा सांस्कृतिक क्षेत्रमा रहेको बहुआयामिक योगदानको चर्चा गरे । गोकर्णेश्वर नगरप्रमुख दीपककुमार रिसाल र समाजसेवी रामहरि रिजालले उनको सामाजिक तथा मानवीय सेवाको प्रशंसा गरे भने भैरव पुरस्कार गुठीका उपाध्यक्ष गोपालप्रसाद बराल र रमेश विकल साहित्य प्रतिष्ठानका सचिव आलोक चालिसेले समाज सुधार र सांस्कृतिक संरक्षणमा उनको सक्रियताको स्मरण गरे ।

पूर्व प्रशासक जनकराज ढुंगानाले आफ्ना अनुभव साझा गर्दै थापालाई प्रेरणादायी र दूरदर्शी व्यक्तित्वका रूपमा उल्लेख गरे। प्रतिष्ठानका कार्यकारी प्रिन्सिपल ईश्वरीप्रसाद लामिछानेले पनि उनीप्रति श्रद्धाञ्जली अर्पण गरे ।

कार्यक्रमकै क्रममा स्वर्गीय थापाकी सुपुत्री संगीता थापाले 'अमिर शोभा शिक्षा तथा साहित्य पुरस्कार कोष' स्थापनाका लागि ११ लाख ९४ हजार २ सय २६ रुपैयाँको चेक हस्तान्तरण गरिन् । साथै, सुपुत्र सुशील थापाले परिवारका तर्फबाट उपस्थित सबैप्रति आभार व्यक्त गरे ।

ब्रम्हकुमारी राजयोग उपसेवा केन्द्र, कुपन्डोलकी सञ्चालिका ब्रम्हकुमारी गंगाले आध्यात्मिक दृष्टिकोणबाट थापाको जीवनको स्मरण गर्दै उनको सकारात्मक सोच, सेवा भाव र मानवताप्रतिको समर्पण उच्च रहेको बताइन् ।

ताजा खबर

सम्बन्धित खबर