
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको सियारी गाउँपालिकामा रहेको मृतकको जग्गा नक्कली हकवाला खडा गरी नामसारी गरेको अभियोगमा मालपोत कार्यालयका तत्कालीन प्रमुखसहित ७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
रुपन्देहीको साविक मैनहिया गाविस (हाल सियारी गाउँपालिका वडा नं. २) का मृतक फेरी कहारको नाममा रहेको जग्गा कर्मचारी र स्थानीय जनप्रतिनिधिको मिलेमतोमा किर्ते कागजात तयार गरी अर्कैको नाममा नामसारी गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ ।
अनुसन्धानका अनुसार मृतक फेरी कहारको हक खाने वास्तविक हकवाला उनकी छोरी सन्जु कहार हुन् । तर मालपोतका कर्मचारी र वडाका प्रतिनिधिहरूको आपसी मिलोमतो र योजनामा सन्जुको हक मेटाउने बदनियतले बुद्धीराम कहारलाई मृतकको भाइ भनी झुटा नाता प्रमाणित गराइएको थियो ।
सियारी गाउँपालिका वडा नं. २ को कार्यालयबाट बुद्धीराम कहारलाई मृतकको भाइ प्रमाणित गर्ने नाता प्रमाणपत्र, सर्जमिन मुचुल्का, चारकिल्ला प्रमाणित र सिफारिस जस्ता कागजातहरू तयार पारिएको थियो, जुन पछि जिल्ला अदालत रुपन्देहीले समेत बदर हुने फैसला गरिसकेको छ । सोही गलत कागजातका आधारमा २ बिघा ५ कठ्ठा जग्गा बुद्धीरामको नाममा नामसारी गरिएको पाइएको छ ।
अख्तियारले तत्कालीन प्रमुख मालपोत अधिकृत कुमार आचार्य, तत्कालीन मालपोत अधिकृत भूमिश्वर ढकाल, तत्कालीन नायब सुब्बा राजु शर्मा, खरिदार अजितकुमार साहनी, सियारी गाउँपालिका वडा नं. २ का तत्कालीन वडाध्यक्ष राम किशन थारु, तत्कालीन वडा सदस्य वृजनारायण यादव र जग्गा प्राप्त गर्ने नक्कली हकवाला बुद्धीराम कहारविरुद्ध मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।
अख्तियारले प्रतिवादीहरूमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९, ११ र १९ को उपदफा (२) बमोजिमको कसुरमा कैद र जरिवाना सजायको मागदाबी गरेको छ । सरकारी अभिलेखमा झुटा विवरण थपघट गर्ने, गलत लिखत तयार गर्ने र सरकारी सम्पत्तिमा हानि पु¥याउने कार्यमा संलग्न उनीहरूलाई सोही ऐनको दफा २२ बमोजिम मुख्य कसुरदार सरह सजाय गर्न माग गरिएको छ ।