२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

१८ गतेदेखि काठमाडौंका सबै सुकुम्वासी बस्ती हटाइने

Nada
२०८३ वैशाख १६ गते १९:१६
Shares
१८ गतेदेखि काठमाडौंका सबै सुकुम्वासी बस्ती हटाइने

काठमाडौं : राजधानीका नदी किनार आसपासका सबै सुकुम्वासी बस्तीमा रहेका संरचनाहरू हटाउने प्रक्रिया औपचारिक रूपमा अघि बढाइने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार सार्वजनिक सूचना जारी गर्दै वैशाख १८ गते बिहान ७ बजेदेखि उपत्यकाभर एकैसाथ खाली गराउने अभियान सुरु गरिने जनाएको हो ।

ncell

प्रशासनका अनुसार काठमाडौं जिल्लाभित्रका विभिन्न स्थानीय तहमा नदी किनार, सरकारी तथा सार्वजनिक जग्गा मात्रै नभई निजी स्वामित्वका जमिनसमेत अतिक्रमण गरेर वर्षौंदेखि बसोबास गर्दै आएका बस्तीहरूलाई हटाउने निर्णय गरिएको हो । यस्तो कदम मानवीय उद्धार, बाढी तथा अन्य विपद्को जोखिम न्यूनीकरणलाई ध्यानमा राखेर चालिएको प्रशासनको भनाइ छ ।

यसअघि पनि राजधानीका थापाथली, गैरीगाउँ, सिनामंगल र मनोहरा क्षेत्रका बस्तीहरू खाली गराइसकिएको थियो । अब भने बाँकी क्षेत्रहरूमा समेत व्यापक रूपमा अभियान सञ्चालन हुने भएको छ ।

प्रशासनले प्रभावित बासिन्दालाई पूर्वतयारीका लागि विशेष निर्देशनसमेत दिएको छ । जोखिमयुक्त स्थानमा बनेका घरटहरा तत्काल खाली गर्न, परिवारका बिरामी, ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी तथा बालबालिकालाई प्राथमिकतामा राखी सुरक्षित स्थानमा सार्न आग्रह गरिएको छ ।

उद्धार आवश्यक परे नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीको सहयोग लिन सकिने व्यवस्था मिलाइएको प्रशासनले जनाएको छ । आवश्यक परे एम्बुलेन्स सेवा पनि तयारी अवस्थामा राखिने बताइएको छ ।

त्यसैगरी घरभित्रका सम्पूर्ण सामग्री, लत्ताकपडा तथा पशुचौपायालाई समयमै सुरक्षित स्थानमा सार्न अनुरोध गरिएको छ । वैशाख १७ गते साँझसम्म सबै घरटहरा पूर्ण रूपमा खाली गरिसक्न प्रशासनले स्पष्ट निर्देशन दिएको छ ।

प्रशासनका अनुसार वास्तविक रूपमा आश्रय आवश्यक भएका परिवारलाई सरकारले अस्थायी बसोबासको व्यवस्था गर्नेछ भने वास्तविक भूमिहीनको पहिचान गरी दीर्घकालीन समाधानका लागि सम्बन्धित निकायमार्फत पहल गरिनेछ । तर झुटा दाबी गरेर भूमिहीनको नाममा बसोबास गर्ने व्यक्तिहरूलाई भने कानुनी कारबाहीको दायरामा ल्याइने चेतावनी दिइएको छ ।

सरकारले यस अभियानलाई मानवीय सहायता र उद्धारसँग जोडेर अघि बढाइने उल्लेख गर्दै कुनै अफवाह वा भ्रममा नपर्न आग्रह गरेको छ । साथै, अभियानमा सहयोग गर्नु नागरिकको दायित्व भएको पनि स्मरण गराइएको छ ।

प्रशासनले सूचनालाई बेवास्ता गरी बसोबास जारी राखेमा संरचना भत्किँदा हुन सक्ने क्षतिको जिम्मेवारी स्वयं व्यक्तिमाथि पर्ने स्पष्ट पारेको छ ।

ताजा खबर

सम्बन्धित खबर