२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

मनोहरा नदीको धार परिवर्तनपछि काठमाडौँ-भक्तपुर सीमाक्षेत्रमा ११५ रोपनी जग्गा प्रभावित

Nada
२०८३ वैशाख १७ गते १३:००
Shares
मनोहरा नदीको धार परिवर्तनपछि काठमाडौँ-भक्तपुर सीमाक्षेत्रमा ११५ रोपनी जग्गा प्रभावित

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले सञ्चालन गरिरहेको मनोहरा जग्गा एकीकरण आयोजनाअन्तर्गत नदीको हालको बहाव र स्वीकृत विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बीच देखिएको फरक अवस्थाबारे प्राविधिक तथा प्रशासनिक स्तरमा छलफल अघि बढाएको छ ।

ncell

महानगरका कार्यवाहक प्रमुख सुनिता डंगोलले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं तथा आयोजनाका प्रमुख निर्मलराज बरालसँग नदी क्षेत्रको नक्सा तथा सीमासम्बन्धी विवरण अध्ययन गर्दै स्वीकृत डीपीआरअनुसार नदीको बहाव क्षेत्र कायम गर्ने कार्यलाई प्राथमिकतामा राखिएको बताएकी छन् ।

महानगरका अनुसार स्वीकृत योजना दस्तावेजमा नदीको धार २०२१ सालको नापी नक्साअनुसार रहनुपर्ने उल्लेख भए पनि समय क्रममा बहाव पश्चिमतर्फ सरेको छ । यसका कारण काठमाडौँतर्फ पर्ने करिब १०० रोपनी जमिन भक्तपुरतर्फ गएको तथा भक्तपुरतर्फको करिब १५ रोपनी क्षेत्र काठमाडौँतर्फ परेको अवस्था देखिएको छ ।

डंगोलले कानुनी तथा प्रशासनिक प्रक्रिया शीघ्र पूरा गरी योजनाअनुसार नदी क्षेत्र व्यवस्थापन गर्न निर्देशन दिएकी छन् । यसका साथै लागत अनुमान तयार गर्ने, आवश्यक जनशक्ति परिचालन योजना बनाउने तथा कार्यान्वयन प्रक्रिया तत्काल अघि बढाउन सम्बन्धित निकायलाई आग्रह गरिएको छ ।

नदी किनारमा रहेका अव्यवस्थित बस्तीका कारण अघिल्लो चरणमा रोकिएका कामलाई तीव्रता दिनुपर्ने महानगरको भनाइ छ। बस्ती क्षेत्रबाट भूमिहीन दाबी गर्दै विवरण दिएका व्यक्तिको उचित व्यवस्थापन, खाली गराइएका स्थानमा रहेको निर्माण सामग्रीको समुचित व्यवस्थापन तथा खाली क्षेत्रलाई घेराबार गरी संरक्षण गर्ने कामलाई समेत प्राथमिकतामा राखिएको छ ।

आयोजना प्रमुख बरालका अनुसार आयोजनाभित्र पर्ने करिब १.५ किलोमिटर नदी बहाव क्षेत्रमध्ये ५७५ मिटर भाग पुरानै अवस्थामै रहेको छ भने बाँकी खण्डमा नदीले मार्ग परिवर्तन गरेको छ ।

उनले भक्तपुरतर्फ सरेको जमिन क्षेत्रमा स्थायी तथा अस्थायी संरचना रहेको उल्लेख गर्दै मानव बसोबास हटाइएपछि ती संरचना हटाउने कार्य सम्पन्न गरिएको र त्यसपछि रिप्लटिङ प्रक्रिया अघि बढाइएको जानकारी दिए ।
 

ताजा खबर

सम्बन्धित खबर