
काठमाडौं : त्रिभुवन विश्वविद्यालयका शीर्ष पदाधिकारीहरूले राजीनामा दिने तयारी गरेका छन् । उपकुलपति प्रा. दीपक अर्याल, रेक्टर प्रा. खड्ग केसी र रजिस्ट्रार प्रा. केदारप्रसाद रिजालले नयाँ सरकारलाई काम गर्न सहज बनाउने उद्देश्यसहित राजीनामा दिन लागेका हुन् ।
सरकारले राजनीतिक नियुक्तिहरू खारेज गर्ने व्यवस्था समेटिएको अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि उनीहरू यस्तो निर्णयमा पुगेका हुन् । विश्वविद्यालय स्रोतका अनुसार, बिहीबार बिहान बसेको पदाधिकारी बैठकपछि राजीनामा दिने सहमति जुटेको हो ।
तीनै जना पदाधिकारीले राजीनामापत्र तयार पारिसकेका छन् भने बिहीबार नै प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहसमक्ष बुझाउने तयारी भइरहेको जनाइएको छ ।
उपकुलपति अर्याललाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०८२ असार २५ गते नियुक्त गरेका थिए । यसअघि उपकुलपति रहेका प्रा. केशरजंग बरालले राजीनामा दिएपछि अर्याल सो पदमा पुगेका थिए ।
यस्तै, रेक्टर केसी र रजिस्ट्रार रिजाल भने तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको सिफारिसमा २०८० चैत ३० गते नियुक्त भएका थिए । उनीहरूको नियुक्ति पनि तत्कालीन उपकुलपति बरालको सिफारिसमा भएको थियो ।
त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूको कार्यकाल चार वर्षको हुने कानुनी व्यवस्था छ भने प्रधानमन्त्री स्वयं विश्वविद्यालयका कुलपति रहने प्रावधान छ ।