२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

सदस्यता अद्यावधिक अभियान पार्टीलाई प्रविधिमैत्री बनाउने प्रयास : महामन्त्री पौडेल

Nada
२०८३ वैशाख १७ गते १७:३१
Shares
सदस्यता अद्यावधिक अभियान पार्टीलाई प्रविधिमैत्री बनाउने प्रयास : महामन्त्री पौडेल

काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी संगठनलाई पूर्ण रूपमा प्रविधिमैत्री बनाउने उद्देश्यसहित क्रियाशील सदस्यता अद्यावधिक अभियान अघि बढाइएको बताएका छन् ।

ncell

राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले बदलिँदो राजनीतिक प्रतिस्पर्धामा सक्षम रहन संगठनात्मक संरचनालाई डिजिटल प्रणालीमा रूपान्तरण गर्नु आवश्यक रहेको उल्लेख गरे । उनका अनुसार सदस्य र पार्टीबीचको सम्बन्धलाई सहज, व्यवस्थित तथा प्रभावकारी बनाउन आन्तरिक प्रणाली आधुनिकीकरण गर्न लागिएको हो ।

महामन्त्री पौडेलले हाल सञ्चालनमा रहेको अद्यावधिक अभियानलाई कांग्रेसको ‘डिजिटलाइजेसन’ प्रक्रियाको महत्वपूर्ण हिस्सा भएको बताए । यस अभियानलाई केही पक्षले फरक अर्थमा व्याख्या गरेको संकेत गर्दै उनले यसको मूल उद्देश्य सदस्यहरूको विवरण सुरक्षित राख्नु, योगदानको अभिलेख व्यवस्थित गर्नु तथा पार्टी–सदस्य सम्बन्धलाई सुदृढ बनाउनु रहेको स्पष्ट पारेका छन् ।

उनले अद्यावधिक प्रक्रिया नयाँ सदस्यता वितरण मात्र नभई पहिलेदेखि सदस्य बनेका, क्रियाशील सदस्यता नवीकरण गरेका वा वैध सदस्यता लिएका व्यक्तिहरूको अभिलेख अद्यावधिक गर्ने कार्य भएको बताएका छन् ।

पार्टीसँग आफ्ना सदस्यहरूको आवश्यक विवरण पर्याप्त रूपमा उपलब्ध नभएको पनि उनले स्वीकार गरे । टेलिफोन नम्बर, सामाजिक सञ्जाल पहिचान, रुचि, योगदान गर्न चाहेको क्षेत्र तथा सहज सम्पर्क माध्यमसम्बन्धी सूचना अभाव रहेको उल्लेख गर्दै उनले आधुनिक संगठन सञ्चालनका लागि यस्ता तथ्यांक अपरिहार्य भएको बताए ।

महामन्त्री पौडेलले सदस्यता अद्यावधिक अभियानलाई सफल बनाउन पार्टी पङ्क्ति तथा सदस्यहरूलाई सक्रिय सहभागिताका लागि आग्रह गरेका छन् ।

ताजा खबर

सम्बन्धित खबर