२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

खैरावाङमा खानेपानी आयोजना सुरु, १२ सय घरधुरी लाभान्वित हुने

Nada
प्रदीप मगर
२०८३ वैशाख १७ गते १८:५५
Shares
खैरावाङमा खानेपानी आयोजना सुरु, १२ सय घरधुरी लाभान्वित हुने

सल्यान : वर्षौंदेखि खानेपानी अभाव झेल्दै आएका शारदा नगरपालिका–१, ११ र १२ का बासिन्दाका लागि राहतको संकेत देखिएको छ । खैरावाङ सामुदायिक खानेपानी आयोजनाको शिलान्याससँगै स्थानीयमा सुरक्षित पानीको पहुँच विस्तार हुने आशा जागेको हो ।

ncell

शारदा नगरपालिका–११ खैरावाङका वीरेन्द्र बस्नेतका लागि पानी ल्याउनु दैनिक संघर्षजस्तै बनेको छ । उनी हरेक बिहान एक घण्टा उकालो–ओरालो हिँडेर पानी बोकेर घर फर्किन्छन्। पानीकै अभावले घरायसी काम, बालबालिकाको पढाइ र सरसफाइमा असर परेको उनको भनाइ छ । गाउँमा बढ्दो बसाइँसराइको एक कारण पनि यही समस्या रहेको उनी बताउँछन् ।

स्थानीय सुषमा बुढाथोकीका अनुसार पानीको कमीले सरसफाइ र तरकारी खेतीसमेत प्रभावित हुँदै आएको छ । विशेषगरी गर्मीयाममा समस्या झन् चर्किने गरेको उनले बताइन्। आयोजना सम्पन्न भएपछि दीर्घकालीन रूपमा पानीको समस्या समाधान हुने अपेक्षा गरिएको छ ।

बिहीबार आयोजित कार्यक्रममा नगर प्रमुख प्रकाश भण्डारी र उपप्रमुख सुस्मिता सापकोटाले संयुक्त रूपमा आयोजनाको शिलान्यास गरेका हुन् । करिब २५ करोड ४३ लाख रुपैयाँ लागत अनुमान गरिएको यस आयोजनामार्फत शारदा नदीबाट करिब पाँच किलोमिटर माथिसम्म पानी तानेर करिब १ हजार २ सय घरधुरीलाई सुरक्षित खानेपानी सेवा उपलब्ध गराउने लक्ष्य राखिएको छ ।

नगर प्रमुख भण्डारीले खानेपानी नागरिकको आधारभूत आवश्यकता भएकाले गुणस्तरीय र समयमै काम सम्पन्न गर्न निर्माण पक्षलाई निर्देशन दिएका छन् । नगरपालिकाले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता पनि जनाएको छ । उपप्रमुख सापकोटाले आयोजना सम्पन्न भएपछि वर्षौंदेखिको समस्या समाधान हुने विश्वास व्यक्त गर्दै यसको दीगो संरक्षणमा स्थानीयको सक्रिय भूमिका आवश्यक हुने बताइन् ।

हाल पानीको अभावका कारण विशेषगरी महिला र ज्येष्ठ नागरिक बढी प्रभावित भएका छन् । सरसफाइ, स्वास्थ्य तथा कृषि उत्पादनमा समेत यसको नकारात्मक असर परेको छ । आयोजना पूरा भएपछि दैनिक जीवन सहज हुनुका साथै तरकारी तथा फलफूल खेती विस्तार भई गाउँमै रोजगारी र बसोबासको वातावरण बलियो हुने अपेक्षा गरिएको छ ।

भ्याटसहित १७ करोड ८५ लाख ४९ हजार ८७५ रुपैयाँमा ठेक्का सम्झौता गरिएको यस आयोजना २०८४ भदौ ७ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । स्थानीय सरकारको पहलमा सुरु भएको यस परियोजनाले खैरावाङ क्षेत्रको जीवनस्तर सुधारमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ ।

ताजा खबर

सम्बन्धित खबर