२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

ट्रेड युनियन अधिकार सीमित गर्ने प्रयास अस्वीकार्य : नारायणकाजी श्रेष्ठ

Nada
२०८३ वैशाख १८ गते १४:२४
Shares
ट्रेड युनियन अधिकार सीमित गर्ने प्रयास अस्वीकार्य : नारायणकाजी श्रेष्ठ

काठमाडौँ : नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले श्रमिकहरूको संगठन गर्ने तथा ट्रेड युनियनमार्फत अधिकार संरक्षण गर्ने संवैधानिक हक सीमित गर्ने कुनै पनि प्रयास स्वीकार्य नहुने बताएका छन् ।

ncell

अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले सरकारले ट्रेड युनियन गतिविधिमाथि नियन्त्रण गर्ने प्रयास गरेको आरोप लगाउँदै त्यसप्रति कडा आपत्ति जनाएका छन् ।

श्रेष्ठले श्रमिक हितका लागि स्थापित संगठनात्मक अधिकारमाथि प्रतिबन्ध लगाउने कदम दुस्साहसपूर्ण भएको उल्लेख गर्दै त्यस्ता निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन् । उनका अनुसार श्रमिकको ट्रेड युनियन अधिकार सुनिश्चित गर्न आवश्यक पर्ने लोकतान्त्रिक संघर्ष रोक्न सम्भव छैन ।

उनले श्रमिक वर्गको तात्कालिक हकहित, श्रम अधिकार तथा संगठन स्वतन्त्रताको रक्षा वास्तविक कम्युनिस्ट र समाजवादी शक्तिहरूले मात्र प्रभावकारी रूपमा गर्न सक्ने धारणा राखेका छन् ।

नेपालको सन्दर्भमा श्रमिकको अधिकार सुनिश्चित गर्न, श्रमको उचित मूल्य निर्धारण गर्न तथा सामाजिक न्यायमा आधारित समतामूलक समाज निर्माणका लागि निरन्तर प्रयास आवश्यक रहेको उनले बताएका छन् ।

श्रेष्ठले रोजगारीका अवसर विस्तार, श्रमिकको जीवनस्तर सुधार तथा श्रमसम्बन्धी कानुन र अधिकारको पूर्ण कार्यान्वयनतर्फ सबै पक्ष प्रतिबद्ध हुनुपर्ने उल्लेख गरेका छन् ।

उनका अनुसार श्रमिक दिवस श्रमिक वर्गले सम्मान, न्याय र अधिकारका लागि गरेको ऐतिहासिक संघर्षको स्मरण गर्ने अवसर हो । समाज र राष्ट्र निर्माणमा श्रम, पसिना र समर्पणमार्फत योगदान पुर्‍याउने श्रमिक वर्ग नै उत्पादनशील शक्तिको मूल आधार रहेको उनले बताएका छन् ।

ताजा खबर

सम्बन्धित खबर