
काठमाडौं : सरकारले बल्खु क्षेत्रमा रहेका अनधिकृत संरचना र सुकुम्वासी बस्ती हटाउने प्रक्रिया अगाडि बढाएसँगै स्थानीय बासिन्दाहरूले सरकारको यस कदमप्रति तीव्र असन्तुष्टि र आक्रोश व्यक्त गरेका छन् ।
बल्खुस्थित सुकुम्वासी बस्तीमा सात जनाको परिवारसहित बसोवास गर्दै आएका अम्बिका पुरीले सरकारले कुनै पूर्वसूचना नदिई एक्कासि बस्ती हटाउन खोजेको भन्दै दुःख व्यक्त गरेका हुन् । उनले सरकारले विकल्पको व्यवस्था नगरी आफूहरूलाई सडकमा पुर्याएको आरोप लगाए ।
उनले सरकारको पछिल्लो कदमप्रति असन्तोष व्यक्त गरे । विगतमा निकै मेहनत गरेर बसोवासको व्यवस्था मिलाएको उल्लेख गर्दै उनले सरकारले सुकुम्वासी बस्ती भत्काउनुअघि उचित व्यवस्थापन वा अर्को जग्गाको व्यवस्था गर्नुपर्ने माग गरे ।
प्रधानमन्त्री वालेन्द्र शाहको कार्यशैलीप्रति टिप्पणी गर्दै उनले सुरुमा केही राम्रो काम हुने आशा पलाए पनि अहिले आफूहरू बिचल्लीमा परेको बताए ।
पुरीकाअनुसार सरकारले बिना जानकारी डोजर चलाउँदा स्थानीयको धनमालमा क्षति पुगेको छ । ‘यो सरकारले गरेको काम राम्रो छैन । बस्ती हटाउनु नै थियो भने हामीलाई दोस्रो जग्गा वा बस्ने ठाउँको विकल्प दिनुपर्थ्यो,’ उनले भने ।
सरकारले सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउने अभियानलाई तीव्रता दिएपनि विकल्पहीन विस्थापनले सुकुम्वासी परिवारहरूमा भने अन्योल र त्रास सिर्जना गरेको छ ।