
सल्यान : सल्यानमा एकै स्थानबाट ठूलो परिमाणमा विस्फोटक पदार्थ फेला परेको छ । जिल्ला प्रहरी कार्यालय सल्यानको परिसरभित्र भवन निर्माणका लागि जग खन्ने क्रममा उक्त सामग्री फेला परेको हो ।
प्रहरीका अनुसार वैशाख १६ गते दिउँसो करिब १२:३५ बजे शारदा नगरपालिका–३ स्थित प्रहरी कार्यालयको कम्पाउण्डमा उत्खननका क्रममा सकेट बम जस्तो देखिने शंकास्पद वस्तु भेटिएको थियो ।
घटनालगत्तै नेपाली सेनाको सिद्धीबक्स गणसँग समन्वय गरी प्रहरी नायव उपरीक्षक डा. हेम बहादुर के.सी.को कमाण्डमा १० जनाको प्रहरी टोली परिचालन गरिएको थियो । त्यसपछि उप सेनानी कृष्णा क्षेत्रीको नेतृत्वमा नेपाली सेनाको टोली घटनास्थलमा पुगेको थियो ।
प्रारम्भिक रूपमा १० वटा सकेट बम फेला परेपछि थप विशेषज्ञ टोली झिकाइएको थियो । मध्यपश्चिम पृतना अन्तर्गत दाङस्थित १९ नम्बर बाहिनीबाट बम डिस्पोजल टोली समेत परिचालन गरिएको थियो ।
थप उत्खननका क्रममा आज बिहान ११ बजेसम्म कुल ८६ वटा बम फेला परेका छन् । तीमध्ये ८२ वटा सकेट बम, ३ वटा सुतली बम र १ वटा बोतल बम रहेको प्रहरीले जनाएको छ ।
यसका साथै घटनास्थलबाट ७ थान रेडियो वेभ उपकरण, करिब ५०० ग्राम विस्फोटक पदार्थ, २ केजी बराबर बम बनाउन प्रयोग हुने सामग्री र १० मिटर फायरिङ केबल समेत बरामद गरिएको छ ।
हाल फेला परेका सबै विस्फोटक पदार्थ सुरक्षित रूपमा डिस्पोज गर्ने कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक डा. हेम बहादुर के.सी.ले जानकारी दिएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको छ भने उक्त क्षेत्रलाई उच्च सुरक्षा सतर्कतामा राखिएको छ ।