
दोहा कतार : म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतारले २०२५-२७ कार्यसमितिका महासचिव शिव खड्कालाई संस्थागत बिदाइ गरेको छ । १८ वर्ष लामो कतारको बसाई बिट मारेर नेपाल फर्किन लागेका खड्कालाई शुक्रवार साँझ एक कार्यक्रमका बिच दोसल्ला ओढाएर मायाको चिनो र सम्मानपत्रले सम्मान गर्दै बिदाइ गरिएको हो ।
वैदेशिक रोजगारीको क्रममा कतारमा रहँदा सन २०१२ बाटै मोना कतारमा आबद्ध रहेर सामाजिक कार्यमा सक्रिय खड्का मोना कतारसँग प्रत्यक्ष जोडिएर थप सामाजिक कार्यहरू गर्ने मन हुँदा हुँदै विविध कारणले कतार बसाइलाई टुंग्याउनु परेको बताए । उनले संस्थाभित्र थप सुधारको आवश्यक रहेको बताउँदै एक पटक समाजको नेतृत्व गर्ने चाहाना हुँदा हुदै पनि कतार बसाईंलाई टुंग्याउनु परेकोमा दुख व्यक्त गरे । उनले आफू जहाँ रहे पनि मोनाको अभियानमा जोडिने प्रतिबद्धता व्यक्त समेत गरे ।

संघका अध्यक्ष बाबुराम भण्डारीको सभाध्यक्षता, मोना आईईसिका कोषाध्यक्ष नरेन्द्र फगामीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि फगामीले कर्मभूमिलाई बिट मारेर नेपाल जाने एक नियमित प्रक्रिया रहेको हुँदा जहाँ रहे पनि खुसी रहन सुझाव दिए । संघका संस्थापक अध्यक्ष प्रेम रसाइली, मोना कतार बहुउद्देश्यीय अक्षयकोषका अध्यक्ष विक्रम कार्की, संरक्षक रमेश पौडेल, प्रमुख सल्लाहकार राजु पौडेल लगायतका अन्य पदाधिकारीहरूले खड्कालाई सुखमय जीवनको कामना गर्दै शुभकामना दिएका थिए ।
मोना कतारका वरिष्ठ उपाध्यक्ष देवी कँडेलले स्वागत मन्तव्य राखेको कार्यक्रमको समापन गर्दै सभाध्यक्ष भण्डारीले जुझारु महासचिवलाई संस्थाले बिदाइ गर्नु पर्दा असहज लागे पनि सुरक्षित भविष्यको शुभकामना ज्ञापन गरे । उनले खड्काले उठाएका केही मुद्दामा आफूले काम गर्ने बताए । कार्यक्रमलाई सचिव कमल परियारले सहजीकरण गरेका थिए ।