
काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रसुवा जिल्ला समिति विघटन गर्ने निर्णय गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले बागमती प्रदेश समितिको सिफारिसका आधारमा सो निर्णय गरेको पार्टी प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।
उनका अनुसार अब विघटित समिति पुनर्गठनका लागि नयाँ प्रक्रिया अवलम्बन गरिनेछ र सोहीअनुसार जिल्ला तहको नेतृत्व संरचना पुनः गठन गरिनेछ ।
फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा उक्त जिल्लामा अपेक्षाकृत न्यून मत प्राप्त भएको अवस्थालाई समेत ध्यानमा राख्दै संगठनात्मक पुनर्संरचना अघि बढाइएको पार्टी स्रोतले जनाएको छ ।