
काठमाडौँ : सभामुख डोलप्रसाद अर्यालले राज्यका कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीच साझा दृष्टिकोण र समन्वयपूर्ण कार्यशैली स्थापित हुन सके मुलुकले छोटो अवधिमै उल्लेखनीय विकास हासिल गर्न सक्ने बताएका छन् ।
आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले राष्ट्रिय विकासलाई तीव्र बनाउन राज्यका तीनै अंगले एउटै लक्ष्य र भावना (स्पिरिट) सहित काम गर्नुपर्ने आवश्यकता औँल्याए ।
अर्यालका अनुसार शिक्षा, स्वास्थ्य, कृषि तथा भौतिक पूर्वाधारजस्ता आधारभूत क्षेत्रलाई छुट्टाछुट्टै नभई एकीकृत रणनीतिका आधारमा अघि बढाउनुपर्नेमा जोड दिन आवश्यक छ ।
उनले सरकार र संसदबीचको समन्वयलाई अझ प्रभावकारी बनाउँदै कानुन निर्माण प्रक्रिया कार्यपालिकाको गति अनुरूप अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
सभामुख अर्यालले आफ्नो कार्यकाललाई मुख्यत: विधेयक निर्माण र त्यसको कार्यान्वयनमा कार्यपालिकालाई आवश्यक दिशानिर्देश दिने भूमिकामा केन्द्रित गर्ने उल्लेख गरे ।
उनका अनुसार आगामी पाँच वर्षलाई देश र नागरिकको हितलाई प्राथमिकतामा राख्दै विकासमुखी मार्गमा अघि बढाउनुपर्ने आवश्यकता छ ।