
काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुकुम्वासी बस्ती स्थानान्तरणको प्रक्रियासँग सम्बन्धित कारणले कुनै व्यक्तिले आत्महत्या गर्न बाध्य भएको तथ्य प्रमाणित भएमा राज्यले आवश्यक तथा गम्भीर कदम चाल्ने बताएको छ ।
प्रवक्ता मनिष झाले सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै हालसम्म घटनाको कारण औपचारिक रूपमा पुष्टि नभएको स्पष्ट पारेका हुन् । उनले सुरक्षा निकायको प्रतिवेदन र पोस्टमार्टमलगायतका प्रक्रियाबाट सम्बन्धित निष्कर्ष नआएसम्म निष्कर्षमा पुग्न नमिल्ने धारणा राखे ।
उनका अनुसार यदि स्थानान्तरण प्रक्रियाकै प्रत्यक्ष प्रभावका कारण आत्महत्याको अवस्था सिर्जना भएको प्रमाणित भएमा राज्य संयन्त्रले जिम्मेवारीपूर्वक आवश्यक कारबाही अघि बढाउनेछ । गत शुक्रबार बल्खुस्थित सुकुम्वासी बस्ती नजिकै बागमती खोलामा एक व्यक्ति मृत अवस्थामा फेला परेका थिए ।