
बझाङ : एक्काइसौं शताब्दीमा आइपुग्दा पनि नेपाली समाजमा महिलाहरू सामाजिक विभेद र आर्थिक पछौटोपनाबाट पूर्ण रूपमा मुक्त हुन सकेका छैनन् । क्षमता र सम्भावना हुँदाहुँदै पनि अवसरको अभावले धेरै महिलाहरू आफ्ना सीप र दक्षता देखाउनबाट वञ्चित भइरहेका छन् । तर बझाङको बुंगल नगरपालिका–रारु गाउँमा भने यस्तो अवस्था विस्तारै परिवर्तन हुँदै गएको देखिएको छ ।
युनाइटेड मिसन टु नेपालको आर्थिक सहयोग र दलित सहयोग समाजको साझेदारीमा सञ्चालित ‘समान व्यवहार परियोजना’ लागू भएपछि यहाँ लैंगिक समानता र महिला जीविकोपार्जनका क्षेत्रमा उल्लेखनीय सुधार देखिएको हो । विभिन्न जातजाति र धर्मका मानिसहरूको बसोबास रहेको रारु गाउँमा महिला समूहहरूको सक्रियताले विविधतालाई एकतामा रूपान्तरण गरेको छ । महिलाहरूको सक्रियतामा गठित ‘सेतिसाइपाल एकल समूह’ ले नेतृत्व विकास, जीविकोपार्जन र सीपमूलक तालिममार्फत महिलाहरूलाई सशक्त बनाउँदै आएको छ । यसैको परिणामस्वरूप अहिले धेरै महिलाहरू उद्यमीका रूपमा स्थापित हुन थालेका छन् ।
समूहकी सदस्य ५७ वर्षीया बिर्मा कामीको कथा निकै प्रेरणादायी छ । अपांगताको पीडा भोग्दै जीवनयापन गर्न संघर्षरत बिर्मालाई संस्थाले दिएको तीन वटा बाख्राबाट सुरु भएको यात्रा आज उनको मुख्य आम्दानीको स्रोत बनेको छ । ‘जीवनभर सुन देखेको थिइनँ, अहिले ६ आना सुन र ३ लाख नगद जम्मा गर्न सफल भएकी छु,’उनले गर्वका साथ भनिन् । शारीरिक असहजता र पारिवारिक जिम्मेवारीबीच उनले भोगेको कठिनाइ अहिले सफलताको कथामा रूपान्तरण भएको छ ।
यस्तै, २८ वर्षीया निशा बोहराले पनि बालविवाह, अशिक्षा र घरेलु हिंसाको चक्रबाट बाहिर निस्किँदै नयाँ जीवन सुरु गरेकी छन् । ‘पहिले आफ्ना समस्या कसैसँग भन्न सक्ने अवस्था थिएन, अहिले महिला समूहले हाम्रो आवाज बन्ने थलो दिएको छ,’ उनले भनिन् । समूहमार्फत प्राप्त मनोसामाजिक परामर्श र सीपमूलक तालिमले उनलाई आत्मनिर्भर बन्न सहयोग पुगेको छ ।
महिला समूहहरू गठन भएपछि अहिले हप्तामा एक दिन महिलाहरू जीविकोपार्जन र उद्यमसम्बन्धी छलफलमा व्यस्त रहने गरेका छन् । सिलाइ–कटाइ, बाख्रापालन, साना व्यवसायजस्ता गतिविधिमार्फत उनीहरूले घरमै बसेर आयआर्जन गर्न थालेका छन् । यसले पारिवारिक आर्थिक अवस्थामा सुधार ल्याएको मात्र होइन, जीवनशैलीमा समेत सकारात्मक परिवर्तन देखिएको छ ।
‘समान व्यवहार परियोजना’ अन्तर्गत सञ्चालन गरिएका सामाजिक जागरणका कार्यक्रमहरूले महिलाहरूलाई आत्मनिर्भर र आत्मविश्वासी बनाउन महत्वपूर्ण भूमिका खेलेका छन् । महिला समूह र सहकारीमार्फत निर्णय प्रक्रियामा उनीहरूको सहभागिता बढेको छ, जसले घरदेखि समाजसम्म महिलाको सम्मान र भूमिका विस्तार गरेको छ ।
साथै, सामाजिक सचेतना अभिवृद्धिसँगै महिलाहरूले आफ्ना हक–अधिकारका लागि आवाज उठाउन थालेका छन् भने हिंसाविरुद्ध प्रतिवाद गर्ने क्षमता समेत विकास भएको छ ।
युनाइटेड मिसन टु नेपालको आर्थिक सहयोग र दलित सहयोग समाजको सहकार्यले रारु गाउँका महिलाहरूमा देखिएको यो सकारात्मक रूपान्तरणले परिवार र समाजको समग्र विकासमा महत्वपूर्ण योगदान पु¥याएको स्थानीयहरूले बताएका छन् ।