पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली साउने सोमबार पारेर पशुपतिनाथको आरतीमा सहभागी भए । पशुुपतिनाथको आरतीमा सहभागी हुने ओली दलबलसहित पुगेका थिए । त्यहाँ उनले धार्मिक कार्यमा सहभागिता जनाए । पशुपतिनाथको आरतीमा ओलीको सहभागितालाई चासोका साथ हेरिएको छ । यसअघि २०७७ माघमा पनि ओली पशुपतिनाथ गएका थिए । त्यहाँ ओलीले क्षमापुजा सहित सुनको जलहरी निर्माणको प्रतिबद्धता जनाएका थिए । एक अर्व लागतमा सुनको जलहरी निर्माणमा सरकारको ३० करोड र पशुपति विकास कोषको बाँकी रकम खर्च भएको छ । अझ अगाडि बढेर ओलीले चितवनको माडीमा राम मन्दिर स्थापना गरे । यी सबै कार्यले पूर्वप्रधानमन्त्री ओली हिन्दू मत तान्ने प्रयत्नमा रहेको देखाउँछ ।
धर्मको रोजाइ व्यक्तिगत स्वतन्त्रता हो । तर धर्म निरपेक्ष मुलुकका पूर्वप्रधानमन्त्री एवम् प्रमुख विपक्षी दलका अध्यक्षको धार्मिक झुकावलाई व्यक्तिगत स्वतन्त्रताका रुपमा मात्रै हेरिन मिल्दैन । किनकि पार्टी नेतृत्वको अनुशरण कार्यकर्ताले गर्दैनन् भन्ने हुन्न । यदि त्यसो भएमा धार्मिक रुझान दलको एजेण्डा बन्ने खतरा हुन्छ । जबकी नेपालको संविधान धर्म निरपेक्ष हो । धर्म निरपेक्ष संविधान कार्यान्वयन गर्नु प्रमुख दल र सरकारको दायित्व हो । त्यो दायित्व भुलेर धार्मिक ग्रन्थ मार्गदर्शन बन्नुले मुलुकको कोर्स नै बदलिन सक्छ । अझ दक्षिण छिमेक भारतको प्रभाव यता सर्ने खतरा पनि उत्तिकै हुन्छ । अहिले भारतको सत्तारुढ दलले त्यहाँको बहुसंख्यक हिन्दूहरुको एजेण्डालाई प्राथमिकतामा राख्दा अल्पसंख्यक धार्मिक समुदायमाथि अन्याय बढेको छ ।
त्यही प्रवृत्ति नेपालमा सर्ने खतरा बढी हुन्छ । अध्यक्ष ओली सहित राजनीतिक नेतृत्वले त्यसतर्फ सोच्न आवश्यक छ । विगतका संघर्ष र राजनीतिक अभ्यासले पनि राजनीतिक नेतृत्वले संविधानको बाटो हिड्न जरुरी छ । यसको अर्थ धार्मिक कार्यबाट अलग हुने भन्ने होइन । तर धर्म विशेषको प्रचारलाई धार्मिक स्वतन्त्रताका रुपमा मात्रै भनेर पुग्दैन । यसले युगौदेखि सद्भावका साथ अगाडि बढेको समाजलाई विभाजित गर्ने खतरा बढी हुन्छ । केही दशक अगाडि नेपालगञ्जमा भएको धार्मिक द्वन्द्वको पाठ समेत नेतृत्वले भूल्न मिल्दैन । अझ बहुलतायुक्त समाज आफैमा समृद्धिका प्रतीक हुन् । राजनीतिक नेतृत्वले यसतर्फ ध्यान दिन जरुरी छ । धार्मिक एजेण्डा उठाउँदा भोट तान्न सकिएला, तर त्यो राजनीति दीगो र दीर्घकालीन भने होइन ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies