
काठमाडौं : काठमाडौंका सुकुम्वासी बस्तीहरूमा डोजर चलाउने अभियानका क्रममा भएका दुईवटा आत्महत्याका घटनाको निष्पक्ष छानबिन गर्न माग गर्दै काठमाडौं जिल्ला प्रहरी परिसरमा निवेदन दर्ता गरिएको छ ।
जेनजी मुभमेन्ट नेपालका प्रवक्ता विजय शाहले उक्त घटनाहरूको छानबिन गरी दोषीमाथि कारबाहीको माग गर्दै निवेदन पेस गरेका हुन् ।
बल्खु र थापाथली सुकुम्वासी बस्ती हटाउने अभियानका क्रममा दुई जनाले ज्यान गुमाएका थिए । वैशाख १८ गते बल्खुमा डोजर अभियान सञ्चालन भइरहेको दिन ६१ वर्षीय इन्द्रबहादुर राईले घरबाट निस्केर बागमती नदीमा हाम फालेको र पछि उनको शव फेला परेको निवेदनमा उल्लेख गरिएको छ ।
साथै निवेदनमा थापाथलीमा वैशाख १७ गते राति बस्ती हटाउने क्रम जारी रहँदा १७ वर्षीय रविन तामाङले आफ्नै घरको शौचालयमा झुण्डिएर आत्महत्या गरेको पनि शाहले उल्लेख गरेका छन् ।
निवेदक शाहले उक्त डोजर अभियान प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशनमा सञ्चालन भएको उल्लेख गर्दै, यसले सुकुम्वासीहरूमा अत्यधिक मानसिक तनाव, डर, त्रास र अनिश्चितता सिर्जना गरेको दाबी गरेका छन् । सो कार्य र दबाबले आत्महत्याका घटनामा भूमिका खेले/नखेलेको विषयमा विस्तृत अनुसन्धान हुनुपर्ने माग निवेदनमा गरिएको छ ।
जेनजी मुभमेन्ट नेपालले प्रहरीसमक्ष दुवै आत्महत्याका घटनाको विस्तृत र निष्पक्ष छानबिन गरिनुपर्ने, मुलुकी अपराध संहिता, २०७४ को दफा १०८ (आत्महत्या दुरुत्साहन) बमोजिम जिम्मेवारी निर्धारण गरिनुपर्ने, डोजर अभियानमा संलग्न कर्मचारी, प्रत्यक्षदर्शी र निर्णयकर्ताहरूसँग तत्काल सोधपुछ गरिनुपर्ने । सिसिटिभी फुटेज, फोन रेकर्ड र अन्य प्रमाणहरूको संकलन तथा विश्लेषण गरिनुपर्ने माग गरेको छ ।
निवेदक शाहले वैशाख २१ गते दर्ता गराएको उक्त निवेदनमा स्वतन्त्र र प्रभावकारी छानबिन मार्फत सत्यतथ्य बाहिर ल्याई कानुनी कारबाही अघि बढाउन अनुरोध गरेका छन् ।

