
काठमाडौं : सभामुख डोलप्रसाद अर्यालले प्रमुख सचेतक तथा सचेतकहरूसँग छलफल गरेका छन् । सभामुख अर्यालले संसदको आउँदो अधिवेशनलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रमुख सचेतक एवं सचेतकहरूसँग छलफल गरेका हुन् ।
छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सचेतक क्रान्तिशिखा धितालले संसदको कार्यप्रणालीलाई प्रभावकारी बनाउने छलफल भएको बताइन् । उनले संसदीय दलको प्रमुख सचेतक तथा सचेतक चयन भएपछि सभामुखसँग पहिलो छलफल भएकोले बधाई तथा शुभकामना आदानप्रदान समेत भएको बताइन् ।
रास्वपाकै अर्का सचेतक प्रकाशचन्द्र परियारले संसदमा प्रतिनिधित्व गर्ने ६ वटै दलका सचेतक र प्रमुख सचेतकहरूसँग सभामुखले संसदको सञ्चालनको अवस्था र समस्याको बारेमा छलफल गरेको बताए ।
छलफलमा सभामुख अर्यालले संसदलाई थप प्रभावकारी रूपमा सञ्चालन गर्न दलहरूसँग समन्वय र सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेको पनि उनले जानकारी दिए ।
नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले सभामुखसँगको छलफलमा संसद छिटोभन्दा छिटो सञ्चालन गर्न पहलकदमी लिन आफूहरूले आग्रह गरेको बताइन् । उनले छलफलको कुनै ठोस एजेण्डा नभएपनि सभामुख अर्यालले संसदको प्रभावकारिता बढाउन विपक्षी दलहरूसँग सहकार्य र समन्वयको अपेक्षा गरेको उल्लेख गरिन् ।
छलफल सभामुख अर्यालले संसदको बर्खे अधिवेशन छिट्टै आह्वान हुने विश्वास व्यक्त गरेको उनको भनाइ छ ।