
काठमाडौँः प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले नागढुङ्गा सुरुङमार्ग साउनको दोस्रो हप्ताबाट सञ्चालनमा ल्याउन निर्देशन दिएको छ । सोमवार नागढुङ्गा सुरुङमार्गको अनुगमन गर्दै समिति सभापति आशिष गजुरेलले उक्त निर्देशन दिएका हुन् ।
समिति सभापति गजुरेलले कुनैपनि बहानामा अब सुरुङमार्ग सञ्चालनमा ढिलाई गर्न नहुने बताए । उनले पूर्वनिर्धारित समयमै परियोजना सञ्चालन गर्न नसकिएकोप्रति पनि असन्तुष्टी जनाए । परियोजनाले २०८२ माघमा सुरुङमार्ग सञ्चालनमा ल्याउने बताएपनि फेरि साउनको दोस्रो हप्तामा भाका सारेको उनको भनाइ छ । उनले आफैँ सीमा तोक्ने र आफैँ ६ महिना ढिला गर्ने प्रवृत्ति अब स्वीकार्य नहुने बताए ।
उनले परियोजनामा आवश्यक भौतिक पूर्वाधार निर्माण सम्पन्न भइसकेको, सञ्चालनका लागि निजी क्षेत्र छनोट भइसकेको तथा कार्यविधि र दररेटसमेत तय भइसकेको अवस्थामा अब ढिलाइ गर्न नहुने बताए । आयोजनाको सेवा सञ्चालनको तयारीमा देखिएको कमजोरीप्रति पनि उनले असन्तुष्टी जनाए । उनकाअनुसार यदि २०२६ जनवरी १ मा सञ्चालन गर्ने लक्ष्य लिइएको थियो भने निजी क्षेत्र छनोट प्रक्रिया एक वर्षअघि नै सुरु हुनुपथ्र्यो । गजुरेलले समयमै निजी क्षेत्र छनोट गर्न नसक्दा तयार भइसकेको परियोजना पनि सञ्चालनमा आउन नसकेको बताए । यसले राज्यलाई ठुलो आर्थिक नोक्सानी पुर्याएको उनको दाबी छ ।