द्वन्द्वकालमा पीडित बनेका सुरक्षाकर्मीको परिवारले राजधानी काठमाडौंमा धर्ना दिएका छन् । मंगलबार अन्यायमा परेका सुरक्षाकर्मीका परिवारले न्याय नपाएको भन्दै धर्ना दिएका हुन् । बेपत्ता पारिएका व्यक्तिको छानबीन, सत्य निरुपण तथा मेलमिलाप ऐन–२०७१ लाई संशोधन गर्न बनेको विधेयकमा घाइते सुरक्षाकर्मीको माग पनि समावेश गराउनुपर्ने लगायत माग उनीहरुले राखेका छन् । विधेयकले घाइते सुरक्षाकर्मी र उनका परिवारलाई कुनै सम्बोधन नगरेको गुनासो सहित धर्ना दिएका छन् । द्वन्द्वपीडित सुरक्षाकर्मी जस्तै बेपत्ता, शहीद र अपाङ्गता भएका परिवारले पनि बेलाबेला धर्ना तथा प्रदर्शन गर्दै आएका छन् । द्वन्द्वकालमा बिस्थापित भएकाहरुको पुनस्र्थापनाको एजेण्डा अझै सकिएको छैन । तर न्याय दिलाउन भने सरकारले उदेकलाग्दो विलम्ब गर्दै आएका छन् । आन्दोलनकर्ता माओवादी, पीडित अन्य दल, सेना प्रहरी र सर्वसाधरणले फरक–फरक पीडा पोख्ने गरेका छन् ।
तर सरकारले भने न्याय दिलाउने कार्यलाई अगाडि बढाएको छैन । माओवादी शान्ति प्रक्रियामा आएको डेढ दशक भइसक्दा पनि न्याय निरुपण कार्य टुंगिन नसक्दा यस्ता समस्या देखिने गरेको हो । यो अवधिमा माओवादीले नै तीन पटक सरकारको नेतृत्व गरिसकेको छ । ०६३ सालको अन्तरिम सरकारमै सहभागी भएको माओवादीबाट पुष्पकमल दाहाल प्रचण्ड र बाबुराम भट्टराईले सरकारको नेतृत्व गरे । प्रचण्डले ०६५ र ०७३ सालमा सरकारको नेतृत्व गरे भने भट्टराईले ०६८ सालमा सरकारको नेतृत्व गरेका थिए । त्यसबाहेक गिरिजाप्रसाद कोइराला, माधवकुमार नेपाल, झलनाथ खनाल, सुशील कोइराला, खिलराज रेग्मी, केपी शर्मा ओली र शेरबहादुर देउवा नेतृत्वमा यो अवधिमा सरकार बन्यो ।
यति धेरै सरकार परिवर्तन भइसकेको र ०७२ मा संविधान जारी भएको पनि सात वर्ष भइसकेको छ । तर सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका परिवारको छानबीन कार्य टुंगोमा पुग्ने सकेको छैन । त्यसको मूल कारण भने न्याय दिलाउने कार्यमै राजनीतिकरण हुनु हो । हरेक सरकारको प्राथमिकतामा न्याय निरुपण हुन नछोड्ने र निष्कर्षमा पनि नपुग्ने प्रवृत्तिले निरन्तरता पाउँदै आएको छ । यो पीडितमाथि अन्याय मात्रै नभएर राष्ट्रिय लज्जाको विषय समेत हो । किनकि न्यायका निम्ति नागरिकले यति लामो संघर्ष गर्नुपर्ने मुलुकको अन्तर्राष्ट्रिय छबी राम्रो हुन सक्दैन । यसतर्फ राजनीतिक नेतृत्वले गम्भीर भएर सोच्न जरुरी छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies