
काठमाडौँ : सगरमाथा क्षेत्रको खुम्बु आइसफलमा भएको हिमखण्ड (सेराक) भत्किने घटनामा एक विदेशी आरोही र एक शेर्पा गाइड घाइते भएका छन् । उनीहरूलाई तत्काल उद्धार गरी उपचारका लागि काठमाडौँ ल्याइएको छ ।
पर्यटन विभागका अनुसार सगरमाथा आधार शिविरबाट दोस्रो शिविरतर्फ ‘रोट सन’का लागि अगाडि बढ्ने क्रममा आज बिहान करिब ५:४५ बजे जोखिमयुक्त मानिएको ठुलो हिमथुप्रो खस्दा आरोहण मार्गमै दुर्घटना भएको हो । उक्त घटनामा भारतको पुनेका ४० वर्षीय निमिस कुमार सिंह र ४४ वर्षीय गाइड पेम्बा टेन्डुक शेर्पा घाइते भएका हुन् ।
घटनापछि पायोनियर एडभेन्चर प्रालि तथा समिट फोर्स एक्स्पिडिसनसँग आबद्ध शेर्पा उद्धार टोलीले तत्काल प्रतिक्रिया जनाउँदै घाइतेलाई आधार शिविरसम्म पुर्याई समन्वय सुरु गरेको थियो । त्यसपछि सेभेन समिटसम्बद्ध टोलीको पहलमा लुक्लाबाट बिहान करिब ६:३० बजे हेलिकप्टर परिचालन गरी उनीहरूलाई उद्धार गरिएको हो ।
उद्धारपछि घाइते दुवै जनालाई काठमाडौँस्थित ह्याम्स अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ। सम्बन्धित निकायका अनुसार उनीहरूको स्वास्थ्य अवस्था हाल स्थिर र खतरामुक्त रहेको छ ।