एजेन्सी : अमेरिकी तल्लो सदन कि सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणप्रति चीनले आक्रोशयुक्त प्रतिक्रिया दिएको छ ।
चिनियाँ उप–विदेश मन्त्री, झी फेङले पेलोसीको भ्रमणको प्रकृति दुष्ट भएको र गम्भीर परिणामहरूको चेतावनी दिएका हुन् । उनले चीन चुपचाप नबस्ने बताएका छन् ।
चिनियाँ सेनाले लक्षित सैन्य कारबाही शुरु गर्ने जनाएको छ । चीनले ताइवान र मुख्य चिनियाँ भू–भागको अनौपचारिक विभाजन रेखामाथि युद्धक विमानहरू उडाएको छ ।
चिनियाँ सैनिकले युद्धको अभ्यास पनि गरिरहेको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
चीनको विदेश मन्त्रालयले बेइजिङका लागि अमेरिकी राजदूत निकोलस बर्नसलाई बोलाएर भ्रमणप्रति विरोध जनाएको छ ।
चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुनिङले भ्रमणको संवेदनशीलताबारे चीन अमेरिकासँग संवादमा रहेको जानकारी दिएकी छिन् ।
मंगलबार साँझ ताइवान पुगेकी पेलोसीले आज राष्ट्रपति साई इङ्ग–वेन र संसदसँग भेटघाट गर्ने अपेक्षा गरिएको छ ।
ताइवान पुगे लगत्तै उनले ताइवानको लोकतन्त्रलाई समर्थन गर्ने प्रतिबद्धतालाई सम्मान गर्न चाहेको बताएकी छिन् ।
पेलोसीको भ्रमणलाई ह्वाइट हाउसले भने समर्थन गरेको छैन । उनको भ्रमण दशकौँमा भएको उच्च अमेरिकी अधिकारीको पहिलो भ्रमण हो । २५ वर्षयता ताइवान भ्रमण गर्ने पेलोसी पहिलो अमेरिकी उच्च अधिकारी हुन् । उनी बेइजिङको लामो समयदेखि आलोचक रहँदै आएकी छिन् ।
पेलोसी ताइवान पुगेपछि चीनले ताइवानमाथि सम्भावित बल प्रयोग गर्नसक्ने भन्दै ताइवानले त्यसको तयारी थालेको छ ।
चिनियाँ धम्कीबाट आफूलाई बचाउन पूर्ण कटिबद्ध रहेको उसको भनाइ छ । ताइवान स्वशासित टापु भएपनि चीनले उसमाथि दाबी गर्दै आएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies