
काठमाडौं : नेपाली कांग्रेसका पाँच भ्रातृ संगठन विघटन भएका छन् । लामो समयदेखि लथालिङ्ग अवस्थामा रहेका नेपाल तरूणदल, नेपाल विद्यार्थी संघ, नेपाल महिला संघ, दलित संघ र नेपाल लोकतान्त्रिक खेलकुद संघ स्वत विघटन भएका हुन् ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको सोमबार बसेको बैठकले म्याद थप्ने निर्णय नगरेपछि १३ भ्रातृ संगठनमध्ये पाँच वटा संगठनका केन्द्रीय कार्यसमितिहरू स्वतः विघटन भएको नेपाली कांग्रेसले जानएको छ ।
लामो समयदेखि महाधिवेशन हुन नसकेका ती भ्रातृ संगठनहरूको महाधिवेशन गर्नका लागि पार्टीले तदर्थ समिति गठन गरेर जिम्मेवारी दिएको थियो । ६ महिनाको कार्यअवधि तोकेर दिएको जिम्मेवारी अनुसार समयमा महाधिवेशन गर्न नसक्दा पटक पटक म्याद थप हुँदै आएको थियो ।
यी संगठनहरूलाई २०८१ चैत्र मसान्तभित्र महाधिवेशन गर्नै पर्ने र गर्न नसकेमा स्वतः पदावधि समाप्त हुने अन्तिम समयसीमा तोकिएको थियो । पार्टीले पटक पटक थपेको समयमा पनि महाधिवेशन गर्न नसकेर असक्षम बनेका भ्रातृसंगठनका अध्याक्षहरू हटेसँगै संगठन नै विघटन भएका हुन् ।
कांग्रेसले पुनः नयाँ तदर्थ समिति बनाएर सबै भ्रातृ संगठनको महाधिवेशन गराउने र संगठनलाई चलायमान बनाउने नेताहरूले बताएका छन् । कांग्रेस सभापति गगन थापाले विघटित पाँच वटै भ्रातृ संस्थाहरूको महाधिवेशनका लागि नयाँ तदर्थ समिति गठन गर्ने र सोही कार्यसमितिले तोकिएको समयमा अधिवेशन सम्पन्न गर्ने गरी पार्टीले निर्णय लिने कांग्रेस महामन्त्री प्रदीप पौडेलले जानकारी दिए ।